site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
प्रयोगकर्तालाई ९५ अर्ब बाँड्दै फेसबुक, पैसा पाउन के गर्ने ? 

काठमाडौं । प्रयोगकर्ताको डाटा गोपनीयता सम्बन्धी मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर तिर्न तयार भएको छ । सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ भित्र फेसबुक अकाउन्ट बनाएका प्रयोगकर्ताले यो रकमको हिस्सा पाउन सक्ने भएका छन् ।

यो मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर (करिब करिब ९५ अर्ब नेपाली रुपैयाँ) आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो ।

के हो मुद्दा ?
सन् २०१८ मा फेसबुकले बेलायती राजनीतिक परामर्श फर्म क्याम्ब्रिज एनालाइटिकासँग दशौं लाख प्रयोगकर्ताको विवरण सेयर गरेको कुरा बाहिरिएको थियो । प्रयोगकर्ताको डाटा र प्रयोगकर्ताको साथीको डाटामा अनुमति बिना नै तेस्रो पक्षको पहुँच गराएको यो गल्ती फेसबुकको अभिभावक कम्पनी मेटाले स्वीकारिसकेको छ ।

क्याम्ब्रिज एनालाइटिकाले यसअघि आफूले तीन करोड फेसबुक प्रयोगकर्ताको विवरण मात्रै संकलन गरेको थियो । तर, यसले ८ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत जानकारी संकलन गरेको बताइएको छ ।

फेसबुकलाई सन् २०१५ मै यो कुरा थाहा भइसकेको भए पनि यसले सन् २०१८ सम्म आफ्ना प्रयोगकर्तालाई कुनै जानकारी दिएको थिएन । रोक्नका लागि कुनै कदम पनि चालेको थिएन । 

यसले प्रयोगकर्ताको जानकारी बिना नै उनीहरूको व्यक्तिगत जानकारी बन्डल गरेर क्याम्ब्रिज एनालाइटिकाजस्ता तेस्रो पक्षहरूले खरिद गर्न सकेको आरोप पत्रमा उल्लेख छ ।

यही मुद्दा समाधानका लागि यो रकम तिर्ने निर्णय क्यालिफोर्नियास्थित संघीय न्यायाधीसले गत महिना अनुमोदन गरेका थिए । सन् २०१९ मा वादीहरूले दायर गरेको मुद्दामा फेसबुकले नाम, उमेर, लिंगमात्रै सेयर गरेको नभएर प्रयोगकर्ताहरूको तस्बिर, उनीहरूले बनाएका र हेरेका भिडियोदेखि म्यासेजसमेत सेयर गरेको उल्लेख छ ।

सन् २०२२ को अगस्टमा अदालतमा पुगेको मुद्दामा डिसेम्बर २२ सम्मको बहसपछि वादीपक्षले यो सम्झौतामा प्रारम्भिक स्वीकृति दिएका थियो । अदालतले गत मार्च २ मा यो सम्झौतामा सुनुवाइ भएको थियो । २९ मार्चमा अनुमोदन भएको थियो ।

वादीहरुको प्रतिनिधित्व गरिरहेको अमेरिकाको सिएटलस्थित कानुनी फर्म केलर रोहरब्याकका डेरेक लोजर र लेस्ले वीभरले यो एतिहासिक सम्झौताले जटिल र गम्भीर गोपनीयताको मुद्दामा अर्थपूर्ण राहत दिने बताएका छन् ।

कसरी पाउन सकिन्छ पैसा ?
यो डाटा ब्रिच अथवा गोपनीयता हनन्को हिस्सा भएको र मुद्दासँग सम्बन्धित ठान्ने प्रयोगकर्ताहरूले पैसा पाउनका लागि नाम, ठेगाना र ईमेलसहित आवेदन दिन सक्नेछन् ।

अनलाइन आवेदन अथवा फर्ममा यो समयावधि भित्र कुनै बेला अमेरिकामा बसेको हुनुपर्नेछ । यसका साथै फेसबुक युजरनेम र अकाउन्टमा लिंक भएको फोन नम्बर पनि उल्लेख गर्नुपर्नेछ ।

फेसबुकले दिने पैसा मास्टरकार्ड, पेपाल र भिन्मोलगायतमा वा सोझै बैंक अकाउन्टमा प्राप्त गर्न सकिनेछ ।
फर्म भर्नका लागि तलकाे लिंकमा क्लिक गर्न सकिन्छ । 
https://facebookuserprivacysettlement.com/#submit-claim
यो अवधिमा फेसबकु चलाएर डिलिट गरिसकेकाहरूले फर्मभन्दा फेसबुक अकाउन्ट खालेको र डिलिट गरेको मिति उल्लेख गर्नुपर्नेछ ।

कहिले आउँछ पैसा ?
यो सम्झौताको अन्तिम अनुमोदन २०२३ को सेप्टेम्बर ७ मा तोकिएको छ । त्यसपछि पैसा उपलब्ध हुनेछ । यो सम्झौतामा सहमत नभएका प्रयोगकर्ताहरू यसमा सामेल नभएर अन्तिम अनुमोदनका बेला फेसबुकविरुद्ध थप लडाईं लड्न सक्नेछन् । त्यसका लागि अदालतमा निवेदन दिएर अन्तिम सुनुवाइ तोकिएको दिन आफ्नो असहमति राख्न सकिनेछ । यी दुवै नगर्ने प्रायोगकर्ताको हकमा अन्तिम स्वीकृतपछि यही सम्झौता लागु हुनेछ । उनीहरूले पैसा पनि पाउने छैनन् भने यो मुद्दामा कुनै दाबी पनि गर्न नसक्ने मेटाले जनाएको छ ।

के भन्छ मेटा ?
यो मुद्दा समाधान भएपछि मेटाले गत डिसेम्बरमा विज्ञप्ति जारी गरेको थियो । ‘पछिल्लो तीन वर्षमा हामीले गोपनीयताप्रति धारणा परिमार्जन गरेका छौँ । यसका लागि महत्वपूर्ण कार्यक्रम लागु गरेका छौँ,’ मेटाले विज्ञप्तिमा उल्लेख गरेको थियो, ‘सम्झौता हाम्रो समुदाय र सेयरहोल्डहरूको हितमा रहेको छ ।’

गत वर्ष सन् २०२२ मा लीक भएका अन्य कागजातहरूले पनि फेसबुक आफ्ना तीन अर्ब प्रयोगकर्ताको डाटा संरक्षण एवं व्यवस्थित गर्न असफल भएको खुलाएको थियो । त्यतिबेला बाहिरिएका कागजातहरूमा फेसबुकको डाटा व्यवस्थापन प्रणालीमा त्रुटि रहेको र प्रयोगकर्ताको डाटा कहाँ जान्छ भन्नेमा यो अव्यस्त रहेको देखिएको थियो ।

यी घटनाले प्रयोगकर्ताको डाटा गोपनीयताको विषयमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले नियामक निकायबाट छानबिनको सामना गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro