
काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा समेटिएकी छिन् । फोरमले विश्वका फरकफरक विधाका युवालाई उनीहरूको कार्यदक्षताका आधारमा समेट्ने गर्छ ।
डंगोलको नाम उक्त सूचीमा समावेश हुनुमा फोरमले विभिन्न आधारहरू प्रस्तुत गरेको छ । सुनिताले मिस नेवाको उपाधि जितेकोदेखि नेपालका ७५३ पालिकामा सबैभन्दा ठूलो मतान्तरले काठमाडौंको उपमेयरमा निर्वाचित भएको विषयलाई पनि आधारका रूपमा प्रस्तुत गरिएको छ ।
सुनिता यसअघिको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपमेयर उम्मेदवार भएर विपक्षीलाई तीन गुणाभन्दा बढी मतान्तरले हराएकी थिइन् ।
यस्तो छ इकोनोमिक फोरमले उल्लेख गरेका आधारको भावानुवाद
सानै उमेरदेखि सार्वजनिक जीवनमा संलग्न सुनिता डंगोलले स्थानीय लिपिहरूको संरक्षण गर्ने उद्देश्यले युवा नेतृत्वको पहल ‘कलिजात्रा’ स्थापना गरेकी थिइन् । सुनिताले मिस नेवा प्रतियोगिता जितिन् र काठमाडौं महानगरपालिकामा शहर योजना आयोगको सबैभन्दा कान्छी सदस्य बनिन् ।
२९ वर्षको उमेरमा, उनी नेपालका ७५३ नगरपालिकाहरूमा सबैभन्दा ठूलो मतान्तरले काठमाडौंको उपमेयरमा निर्वाचित भइन् । हालैका वर्षहरूमा, उनले अक्सफोर्ड विश्वविद्यालय र 'वर्ल्ड टुरिजम सिटिज फोडरेसन समिट' लगायत प्रतिष्ठित कार्यक्रमहरूमा सम्बोधन गरेकी छिन् ।
सुनिताले काठमाडौंमा ‘विश्व महिला महोत्सव २०२४ (वाह नेपाल २०२४)’ पनि आयोजना गरिन् । उनी सांस्कृतिक सम्पदा, युवा सशक्तीकरण र सहरी नवप्रवर्तनलाई प्रवर्द्धन गर्न प्रतिबद्ध एक प्रगतिशील नेता हुन् । समावेशीकरणका निम्ति समर्पित उनी काठमाडौंका विविध समुदायको आवाजलाई प्रतिनिधित्व गर्न अथक प्रयास गर्छिन् ।
कलाप्रेमी सुनिता सहरको समृद्ध परम्पराको संरक्षण र पुनरुत्थान गर्न उत्साहित छिन्, साथै दिगो सहरी विकासलाई पनि बढावा दिन्छिन् । एक युवा प्रेरक र सांस्कृतिक राजदूत, उनी सम्पदा र आधुनिकताबीचको खाडललाई कम गर्न समर्पित एक नयाँ युगकी राजनीतिज्ञ हुन् ।