-1718627857.jpg)
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
विभागले कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा आज दिउँसो एकदुई स्थानमा अपराह्न र साँझतिर हल्का वर्षाको सम्भावना छ,” मौसमविद् रोजन लामिछाने बाह्रखरीसँग भन्छन्, “तर, धेरै ठाउँमा वर्षा हुनेछैन । केही स्थानमा हल्का वर्षा मात्रै हुने हो । मौसम भने बदली रहनेछ ।”
विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
मौसमविद् लामिछानेका अनुसार काठमाडौंमा आज राति वर्षाको सम्भावना न्यून छ ।