
काठमाडौं । कुनैबेला सम्पन्नता, विलासिता र प्रतिष्ठाको प्रतीक मानिने मानिसको पुटुक्क पेट लाग्ने गुण लामो समयदेखि व्यंग्य र सामाजिक टिप्पणीको विषय बन्ने गरेको छ ।
साहित्यमा यसले सुखद् जीवन वा आत्ममुग्धतालाई इंगित गर्थ्यो भने चलचित्रमा यो अल्छी अफिसर, लोभी अंकल वा भ्रष्ट प्रहरीको छवि बन्यो । राजनीतिज्ञहरूलाई हाँसोमा उडाउन कार्टुनहरूले यसलाई बढाईचढाई देखाए । ग्रामीण क्षेत्रमा यो राम्रो लगाउने खाने मानिस भन्ने अवस्थाको प्रतीक बन्थ्यो ।
तर, अहिले यो चिन्ताको कारण बनेको छ । भारतमा मोटोपनको संकट बढ्दैछ र पेटमा लागेको बोसो हामीले सोचेभन्दा पनि खतरनाक हुनसक्छ ।
२०२१ मा भारतमा १८ करोड मानिस मोटोपन वा अधिक तौलको सिकार भएका थिए । यो संख्या चीनपछि दोस्रो ठूलो संख्या थियो । द लान्सेट जर्नलले गरेको अध्ययनका अनुसार, २०५० सम्ममा यो संख्या ४५ करोड (भारतको अनुमानित जनसंख्याको एकतिहाइ) पुग्ने चेतावनी दिएको छ ।
विश्वव्यापी रूपमा, आधाभन्दा बढी वयस्क र एकतिहाइ बालबालिका तथा किशोरहरू यस्तै अवस्थामा पुग्ने अनुमान छ । पेटमा जमेको बोसो वा चिकित्सकीय भाषामा अब्डोमिनल ओबेसिटी (पेटको मोटोपन) नै भारतमा यो समस्याको मुख्य कारण मानिन्छ ।
यस प्रकारको मोटोपनले पेट र कम्मरमा अत्यधिक बोसो जम्मा हुनुलाई जनाउँछ । चिकित्सकहरू यसलाई सौन्दर्यसम्बन्धी चिन्ताभन्दा बढी खतरनाक बताउँछन् । सन् १९९० को दशकदेखिकै अध्ययनहरूले पेटको बोसोसँग टाइप २ मधुमेह र हृदयरोग जस्ता दीर्घकालीन रोगहरूको स्पष्ट सम्बन्ध देखाएका छन् । सन् २०५० सम्म, भारतका ४५ करोडभन्दा बढी व्यक्तिहरू धेरै तौल वा मोटोपनको सिकार हुने अनुमान छ ।
मोटोपन केवल पेटसम्म मात्र सीमित छैन । यो फरक रूपमा देखिन्छ । जस्तैः पेटको वरिपरि मोटोपन जसमा कम्बर, तीघ्रा र फिलामा बोसो जम्मा हुन्छ । त्यस्तै, सामान्य मोटोपन जसमा बोसो पूरै शरीरमा समान रूपले फैलिन्छ ।
भारतमा पेटको मोटोपनको तथ्यांक पहिल्यै चिन्ताजनक छ । राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस–५)को हालैको अध्ययनले (जसमा पहिलोपटक कम्मर र नितम्बको नाप लिइएको थियो) भारतका ४० प्रतिशत महिला र १२ प्रतिशत पुरुष उदर मोटोपनको सिकार भएको देखाएको छ ।
भारतीय मापदण्डअनुसार, पेटको मोटोपन भनेको पुरुषको कम्मर ९० सेमी (३५ इन्च) र महिलाको ८० सेमी (३१ इन्च) भन्दा बढी हुनु हो । ३० देखि ४९ वर्षका महिलाहरूमा यसको लक्षण लगभग दुईमा एकजनामा देखिन्छ । सहरी क्षेत्रमा यो समस्या ग्रामीणभन्दा बढी छ, जहाँ उच्च कम्मर परिधि वा कम्मर–तिघ्रा अनुपात प्रमुख चिन्ताको विषय हो ।
पेटको बोसो किन खतरनाक छ ?
एक प्रमुख कारण हो इन्सुलिन प्रतिरोध । यो त्यस्तो अवस्था हो जहाँ शरीरले इन्सुलिन निकाल्न छोड्छ जसले ग्लुकोज नियन्त्रण गर्छ । पेटको बोसोले इन्सुलिन प्रयोग गर्ने क्षमता बिगार्छ । जसले रगमा ग्लुकोज नियन्त्रण गर्न गाह्रो बनाउँछ ।
दक्षिण एसियालीहरूमा कलेजो र प्यान्क्रियाज जस्ता अंगहरूको वरिपरि हानिकारक पेटको बोसो (डीप एब्डोमिनल फ्याट) कम भए पनि अध्ययनहरूले के देखाएको छ भने उनीहरूका ठूला र कम दक्ष बोसोका कोषहरूले छाला भित्रको बोसो जम्मा गर्न गाह्रो पार्छन् । यसको परिणामस्वरूप, मेटाबोलिज्म नियमन गर्ने महत्त्वपूर्ण अंगहरू (जस्तै लिभर र प्यान्क्रियाज)सम्म बोसो फैलन पुग्छ र यसले मधुमेह र मुटु रोगको जोखिम बढाउँछ ।
वैज्ञानिकहरूले अझै पनि बोसो वितरणको जैविक कारणहरू पूर्ण रूपमा पत्ता लगाउन सकेका छैनन् । धेरै आनुवंशिक अध्ययनहरू गरिएता पनि यो प्रवृत्तिलाई निरन्तर रूपमा व्याख्या गर्न सक्ने एकल जीन फेला परेको छैन ।
एउटा सिद्धान्तले इभोलुसनरी रुट प्रस्तुत गरेको छ । सयौँ वर्षदेखि भारतमा अनिकाल र दीर्घकालीन खाद्यान्न अभावले असर गरेको छ । यसले पुस्तादेखि पुस्तालाई न्यून पोषणमा बाँच्न बाध्य बनाएको छ । यस्तो अवस्थामा, मानव शरीरले अत्यधिक अभावमा बाँच्न अनुकूलन गरेको छ । शरीरले यस ऊर्जाको लागि भण्डारणस्थल चाहिएको थियो । पेट, सबैभन्दा फैलिन सक्ने क्षेत्र भएकोले यो मुख्य भण्डारण स्थल बनेको थियो । समय बित्दै जाँदा, खाद्यान्न प्रचुर भएपछि पनि यो बोसो भण्डारण बढ्दै गयो र अन्ततः हानिकारक स्तरमा पुग्यो ।
दिल्लीस्थित फोर्टिस–सी–डीओसी सेन्टर अफ एक्सिलेन्सका प्रमुख डा. अनुप मिश्रा भन्छन्, “यो अनुमानित तर सम्भाव्य इभोलुसनरी सिद्धान्त हो । यसलाई प्रमाणित गर्न सकिँदैन, तर तर्कसंगत छ ।”
गत वर्ष, भारतीय ओबेसिटी कमिसनले एसियाली भारतीयहरूका लागि मोटोपन गाइडलाइनहरू पुनः परिभाषित गरेर बडिमास इन्डेक्सभन्दा अगाडि गएर शरीरको बोसो र प्रारम्भिक स्वास्थ्य जोखिमको सम्बन्धको अध्ययन गरे । उनीहरूले दुई तहको क्लिनिकल प्रणाली बनाए ।
पहिलो चरणमा उच्च बडिमास इन्डेक्स तर पेटको मोटोपन, पाचन रोग वा शारीरिक अस्वस्थता नभएको जसमा जीवनशैली परिवर्तन (आहार, व्यायाम) पर्याप्त हुन्छ ।
दोस्रो चरणमा पेटको मोटोपनसहितको, जसमा मधुमेह, घुँडा दुखाइ जस्ता रोगहरू जोडिन्छ । यसले उच्च जोखिम संकेत गर्छ र औषधि वा शल्यचिकित्सा जस्ता गहन उपचार आवश्यक हुन्छ ।
यस वर्गीकरणले उपचारको तीव्रता निर्धारण गर्न मद्दत गर्छ । पेटको बोसो देखिनासाथै तुरुन्तै घटाउनुु महत्त्वपूर्ण हुन्छ । डाक्टरहरूको भनाइअनुसार सेमाग्लुटाइड र टिर्जेपाटाइड जस्ता नयाँ वजन घटाउने औषधिहरूले यसलाई लक्षित गरी प्रभावकारी परिणाम दिइरहेका छन् ।
“यो आश्चर्यजनक लाग्न सक्छ, तर, सामान्य वजन भएका व्यक्तिहरूमा पनि पेटको बोसोको स्तर खतरनाक हुन सक्छ,” डा. मिश्रा भन्छन् ।
भारतीय चिकित्सकहरूको भनाइ अनुसार, जीवनशैलीमा आएका परिवर्तनहरू जस्तैः बढी जंक फुड, टेकअवे, तयारी खाना र घिउले तयार गरिएको घरायसी खाना आदिले पेटको मोटोपन वृद्धि गराएको छ । अध्ययनहरूले देखाएअनुसार, सन् २००९ देखि २०१९ को बीचमा क्यामेरून, भारत र भियतनाममा अति–प्रशोधित खाद्य पदार्थ र पेय पदार्थको प्रतिव्यक्ति बिक्री सबैभन्दा तीव्र गतिमा बढेको थियो।
के गर्न आवश्यक छ ?
विशेषज्ञहरूको भनाइअनुसार भारतीयहरूले पश्चिमी मापदण्डहरूले सिफारिस गरेकोभन्दा बढी कठोर जीवनशैली परिवर्तन गर्न आवश्यक छ । जहाँ युरोपेली पुरुषहरूको लागि हप्तामा १५० मिनेट व्यायाम पर्याप्त हुनसक्छ । तर, त्यहाँ दक्षिण एसियालीहरूले आफ्नो मन्द पाचन र कम दक्ष बोसो भण्डारणलाई प्रतिकार गर्न हप्तामा करिब २५०–३०० मिनेट व्यायाम गर्न आवश्यक पर्ने अध्ययनहरूले देखाएका छन् ।
“हाम्रो शरीर बढी बोसोलाई व्यवस्थापन गर्न उत्तिको सक्षम छैन,” डा. मिश्राले भन्छन् ।
संक्षेपमा भन्दा मोटो पेट केवल हाँसोको विषय मात्र होइन । यो एक जोखिमको संकेत हो र भारत स्वास्थ्यका हिसाबले टाइम बमको माथि बसिरहेको छ । बीबीसी