site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षकपछि अब कर्मचारी पनि आन्दोलनको तयारीमा

काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले मुलुक संघीयतामा गएपछि त्यसअनुसारको कानुन निर्माण नहुँदा संघीय शासन प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै संघीय निजामती सेवा विधेयक छिटो अघि बढाउन माग गरेको हो । 

सञ्जालले संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि समयोजनका निम्ति छनोटको अवसर प्रदान गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशको लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ । 

त्यस्तै, सञ्जालले अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीलाई स्थायीसरहको उपदान दिएर अवकाश दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । 

स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टीकृत सेवाको रूपमा विकास गर्नुपर्ने सञ्जालको माग छ । 

विगत १० दिनयता विद्यालय शिक्षकहरूको आन्दोलनका कारण काठमाडौंका सडक अस्तव्यस्त बन्दै आएका छन् । सरकारले शिक्षकका माग सम्बोधनका निम्ति विभिन्न प्रयास गरिरहेको छ । 

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्न तयारी गरिरहेकै बेला निजामती कर्मचारीले पनि संघीय निजामती सेवा विधेयक अघि बढाउन माग गर्दै अन्यथा आन्दोलन गर्ने तयारी गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro