
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विदेशी विनिमय सञ्चिति १८ प्रतिशत बढेको छ । गत फागुनसम्म विदेशी विनियमय सञ्चिति बढेर २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशत बढेर १७ अर्ब २७ करोड डलर पुगेको छ । गत असारमा १५ अर्ब २७ करोड डलर थियो । गत फागुनमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.२, ११९.४ र ३३.० प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।