site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जमिन पास गर्न बोलाएर हत्या, प्रहरीबाट जोगिन भेष बदलेर भारतमा १७ वर्ष पुजारी

काठमाडौं । पर्सा बिन्दबासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली अपराध कर्मको १७ वर्षपछि पक्राउ परे । ४५ वर्षको उमेरमा लोकनाथले जघन्य अपराध गरेका थिए ।

त्यही अपराध कर्मको सजाय भुक्तानका लागि प्रहरीको निरन्तर खोजीपछि उनी सोमबार पक्राउ परेका हुन् । लोकनाथलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा पेस गरेको थियो ।

जिल्ला अदालतले उनलाई थुनुवा पुर्जी दिएर कारागार चलान गरेको छ । लोकनाथले अबको बाँकी जीवन जेल भुक्तान गरेर बिताउनुपर्नेछ । 

अदालतले विसं. २०६९ कात्तिक २४ गते मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (१) अनुसार सर्वस्वसहित जन्मकैदको सजाय गरेको थियो । सोही आदेशअनुसार उनी पक्राउ परेको र जिल्ला अदालत पर्साले थुनुवा पुर्जी थमाएर कारागार चलान गरेको हो ।

सीआईबीका एसपी सुधीर शाहीका अनुसार उनी सीआईबीको निरन्तर प्रयासपछि सोमबार पक्राउ परेका हुन् । एसपी शाही भन्छन्, “हाम्रो निरन्तरको प्रयास र फलोअपका कारण लोकनाथलाई पक्राउ गर्न सफल भएका हौँ । उनी लामो समय भारतमा लुकेर बसे । अहिले छोटो समयका लागि पर्सा पुगेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।” 

लोकनाथलाई यसअघि पनि पक्राउ गर्न सीआईबीको टोली चारपटक पर्सा र भारतसम्म पुगेको थियो । तर, लोकनाथ पर्सा प्रहरी र सीआईबीको टोलीलाई छक्काउँदै भाग्न सफल भएका थिए । 

“अपराध कर्म गर्ने कोही पनि उम्कन सक्दैन । अनुसन्धानका क्रममा केही ढिलोचाँडोको कुरा मात्रै हो,” एसपी शाही भन्छन्, “प्रहरीले निरन्तर अनुसन्धान र खोजीकार्य राखेकै हुन्छ । यसको एउटा उदाहरण लोकनाथ हुन् । अन्य यस्तै प्रकृतिका धेरै फरार अपराधीलाई सीआईबीले पक्राउ गर्दै आएको छ ।” 

सोमबार पनि लोकनाथले पर्सा पुगेको सीआईबीको टोलीलाई छक्काउँदै भाग्ने प्रयास गर्दागर्दै पक्राउ परेका हुन् ।

भेष बदलेर साधु
प्रहरीले लोकनाथको खोजी गरेको १७ वर्षदेखि नै हो । उनले पर्साको साविक बहुअर्वाभाठा–५ का ढोडामुखिया विनको हत्या गरेका थिए । लोकथानसहित चारजनाको समूहले ढोडा मुखियालाई २०६४ वैशाख २५ मा गोली हानेर हत्या गरेका थिए ।

त्यहीबेलादेखि उनीहरू भागेर भारत पुगे । तर, बेलाबेलामा भने प्रहरीलाई छक्काउँदै उनीहरू पर्सा आउने जानेक्रम चलिरहेको थियो ।

सोही सूचनापछि सीआईबीको टोलीले नै गएको भदौमा मुखियाको हत्या गर्नेमध्येका पर्सा बहुअर्वाभाठाका लक्ष्मणप्रसाद चौरसियालाई पक्राउ गरेको थियो । उनी पनि घटनाको १७ वर्षपछि नै पक्राउ परेका हुन् । लक्ष्मणसँग प्रहरीले भारतीय आधार कार्ड समेत फेला पारेको थियो । मंगलबार पक्राउ परेका लोकनाथले भने पक्राउबाट जोगिन भेष नै बदलेको खुलेको छ ।

सीआईबीका एसपी सुधीर शाहीका अनुसार उनी पक्राउबाट जोगिन भारत चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा भेषधारण गरेर बसेको खुलेको छ । उनी हत्याको केही समयदेखि नै साधु बनेर मन्दिरमै बस्दै आएका थिए । 

सोमबार पक्राउ पर्दासमेत उनी गेरुवस्त्र मै फेला परेका थिए । उनी भेष बदलेर पर्सा पुगेको सूचना प्रहरीले पाएपछि सीआईबीको टोली पर्सा पुगेको थियो । सोही आधारमा उनी पक्राउ परेका हुन् ।

०६४ वैशाख २५ गते राति करिब ९ बजे बहुअर्वाभाठा गाउँको पूर्व दक्षिणतर्फको खेततर्फ स्थानीयले गोली चलेको आवाज सुने । त्यो राति स्थानीयले तीन राउन्ड गोली चलेको आवाज सुनेका थिए । 

गोली कसले किन चलायो ?

२०६४ वैशाख २५ गतेको राति करिब ९ बजे बहुखर्वाभाठा गाउँको पूर्व दक्षिणतर्फको खेततर्फ गोली चलेको आवाज स्थानीयले पाए । त्यो राति स्थानीयले ३ राउण्ड गोली चलेको आवाज सुनेका थिए । गोली कसले किन चलायो ?
केही सूचना थिएन । तर, स्थानीयबासी त्रसित थिए । भोलिपल्ट भने गाउँभरी ढोडामुखिया विन हराएको खबर फैलियो । ढोडामुखियाको परिवारमा सन्नाटा छायो । गाउँभरीका युवा ढोडा मुखियाको खोजीमा जुटे ।

तर, ढोडा मुखिया जिवित भेटिएनन् । अघिल्लो राति गोली चलेको आवाज आएको खेतमा मृत फेला परे । उनको शरीरमा गोली लागेको थियो । तर, कसले हान्यो तत्काल खुलेन । प्रहरीको अनुसन्धानका क्रममा ढोडामुखियालाई लोकनाथसहित चारजनाको समूहले गोली हानेर हत्या गरेको खुल्यो । 

तर, उनीहरू गाउँ छाडेर सीमा पार भारत भागिसकेका थिए । प्रहरीको अनुसन्धानका क्रममा ढोडामुखियाले प्रवल चौरसियाको ६ कट्ठा जमिन ७४ हजार भारतीय रुपैयाँमा खरिद गर्ने तयारी थियो ।

त्यसका लागि ढोडामुखियाले चौरसियालाई ६४ हजार भारु दिइसकेका थिए । दश हजार भारु दिन बाँकी थियो । उनीहरूबीच दश हजार पाएपछि जमिन पास गर्ने सहमति थियो ।

सोही सहमतिअनुसार ढोडामुखिया बाँकी रकम बोकेर वैशाख २५ गते नै प्रवल चौरसियाको घर पुगे । जमिन पास गर्ने भनेर घरबाट निस्किएका उनी त्यही दिन घर फर्किएनन् ।

परिवारलाई लाग्यो, जमिन पास गर्दा ढिलो भएर घर फर्किन समय लाग्यो । तर, ढोडामुखियालाई चौरसियाको घरमा आएका लोकनाथसहित लक्ष्मण चौरसिया र धनराज मुखियासहितको चारजनाको समूहले बन्दक बनाए ।

प्रवल चौरसियाको जमिन पास नगरी रकम हत्याउने उद्देश्यले ढोडामुखियालाई बन्दक बनाएर गोली हानेर हत्या गरे । लक्ष्मण र लोकनाथ पक्राउ परे पनि जमिन बिक्री गर्न बैना रकम लिने प्रवल र धनराज भने अझै फरार छन् ।

उनीहरू चारजनालाई नै जिल्ला अदालत पर्साले २०६६ असार ३ मा सर्वस्वसहित जम्मकैदको फैसला गरेको थियो । त्यही वर्षको फागुन २५ मा तत्कालीन पुनरावेदन अदालत र २०६९ मा सर्वोच्च अदालतले समेत उनीहरू चारजनालाई सर्वस्वसहित जन्मकैदको सजाय सदर गरेको हो । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro