site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालेनसँग झगडा गरेर महानगरमा बस्न छैन गुरागाईंको चाहना 

काठमाडौं । विवादकै बीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन बाध्य छन् । गुरागाईंसँग आफ्नै मातहतका नगर प्रहरीले नै कार्यालय प्रवेशमा रोक लगाएको तीतो अनुभव छ ।  

संघीय सरकारका कर्मचारी गुरागाईंलाई गत बिहीबार ढोका फोडेरै कार्यालयमा हाजिर हुनपर्ने अवस्था आइलाग्यो । यस अवधिमा आफू चढ्ने गाडीमा ह्वील लक लगाउनेदेखि महानगर नेतृत्वबाटै भ्रष्टाचारको आरोप गुरागाईंले खेपिरहेका छन् ।
 
पटक–पटक कार्यालय प्रवेशमा रोक लगाउँदै आए पनि कार्यालयमा हाजिर हुन सफल भएका गुरागाईंले महानगरको प्रशासनिक कामको गाँठो फुकाइसकेका छन् ।
 
तीन महिनादेखि रोकिएको शिक्षकसहित पाँच हजारभन्दा बढी कर्मचारीको तलब सोमबार नै खाता–खातामा पुगिसकेको छ ।
 
महानगरका विभिन्न विभागअन्तर्गत हुने भुक्तानीको काम पनि सुरु भइसकेका छन् । तीन महिनादेखि ठप्प भएका सबै काम सहजरूपमा सुरु भइसकेको छ । तर, अब गुरागाईं महानगर नेतृत्वसँग झगडा गरेर बस्ने पक्षमा छैनन् । गुरागाईंले कसैसँग पनि आफ्नो गुनासो नभएको बताएका छन् । 

“मेयर साब (बालेन शाह)प्रति केही गुनासो छैन । उहाँ युवा मेयर हो । नयाँ जोश छ । कार्यालयमा उपस्थित भएदेखि उहाँसँग भेट पनि भएको छैन । महानगरमा भएका सबै कुराबारे सरकारले केही सोचेको होला,” गुरागाईंले भने, “म छानबिनमा तानिएको सात/आठ दिनपछि नै संघीय मन्त्रालयलाई सरूवा मागेको थिएँ । मेयर र उपमेयरले पहल गरेको भए अहिलेसम्म मेरो सरूवा भएर नयाँ प्रमुख प्रशासकीय अधिकृत आइसक्थे होला । उहाँहरूप्रति यत्ति गुनासो हो ।”

महानगरको कुनै पनि नेतृत्वसँग आफू नजुध्ने र अहिलेसम्म काम गर्न असहज नभएको उनले दाबी गरे । कार्यालय प्रवेशमा रोक लगाउन नगर प्रहरी परिचालन गरेकोमा पनि कुनै आपत्ति नरहेको गुरागाईंको भनाइ छ । 

शुक्रबार नगर प्रहरी प्रमुख राजु पाण्डेले गुरागाईंलाई भेटेका थिए । “नगर प्रहरी प्रमुख राजु पाण्डेसँग पनि भेट भयो । उहाँले पनि राम्रै आचरण देखाउनु भयो । माफी माग्ने/नमाग्ने कुराभन्दा पनि कसैप्रति पनि मेरो पूर्वाग्रह छैन,” गुरागाईंले बाह्रखरीसित भने । 

आफूलाई जहाँ सरुवा गरे पनि जाने गुरागार्ईंको भनाइ छ । “मलाई जहाँ सरुवा गरे पनि हुन्छ,” उनले भने ।
 
बजेट निर्माण र कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृतको मुख्य भूमिका हुन्छ । 

गत, बिहीबार गुरागाईं कार्यालयमा हाजिर हुने थाहा पाएपछि नगर प्रहरी प्रमुख पाण्डेको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
 
महानगर वडा नम्बर २८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ र क्षेत्रफल २३–५–३–३ रहेको जमिनमा निर्माण भइरहेको काठमाडौं टावरको तला थप गर्ने अनुमति दिएको भन्दै गत पुस ८ गतेदेखि महानगरका मेयर बालेनले गुरागाईंमाथि छानबिन थालेका थिए ।
 
श्री जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स प्रालिले सो टावर निर्माण गरिरहेको छ । 

कार्यपालिका बैठकविनै बनेका तीनवटा छानबिन समितिले पनि गुरागाईंमाथिको आरोप पुष्टि गर्न नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालयमा हाजिर गराउन पटक–पटक ताकेता गर्दै आएको थियो ।
   
तर, बालेनले गुरागाईं दोषी ठहर हुने प्रशस्तै आधार भएको भन्दै कार्यालय हाजिर गराउन नसकिने अडान लिँदै आएका थिए ।
  
स्थानीय सरकारविज्ञ विमल पोखरेल गुरागाईं महानगरमै बस्न चाहेमा बस्न सक्ने बताउँछन् । “उहाँ बस्न चाहेमा बस्न सक्नुहुन्छ । मलाई भ्रष्टाचारी भन्ने ?, एक दिन भए पनि हाजिर गर्छु भन्ने हिसाबले गुरागाईं गएको मेरो अनुमान हो,” पोखरेलले भने, “तर, अब कसैलाई राजनीतिमा हराउनु वा जिताउनु छैन भन्ने हिसाबले सरुवा माग्नु पनि ठिकै हो ।” 

गुरागाईंले पटक–पटक आफूलाई संघीय सरकारले जहाँ सरुवा गरे पनि जान तयार रहेको बताएका छन् । मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले भने, “थप नयाँ कुरा केही आएको छैन । अहिलेसम्म उहाँ महानगरमै कार्यरत हुनुहुन्छ । मन्त्रालयले अहिलेसम्म केही सोचेको छैन ।” 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro