site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशका ११ सहर ‘अस्वस्थकर’ : कहिले घट्ला वायु प्रदूषण ?
तस्बिर : रासस ।

काठमाडौं । काठमाडौं उपत्यका मंगलबार (चैत २६) पनि विश्वकै ‘प्रदूषित’ बनेको छ । दुई सातायता काठमाडौंमा उच्च वायु प्रदूषण छ ।

वायुको अन्तर्रािष्ट्रय नियामक निकाय आईक्यू एयरका अनुसार, मंगलबार दिउँसो १२ः२० बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको दोस्रो स्थानमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७६ छ ।

यो सूचीको पहिलो स्थानमा रहेको भारतको दिल्लीको एक्यूआई १७७ र तेस्रोमा भियतनामको हनोईको १७४ छ । यीबाहेक अरू सहरको एक्यूआई १७० भन्दा कम छ ।

वातावरण विभागका अनुसार, पछिल्लो २४ घण्टामा देशका नौ स्थान ‘अस्वस्थकर’ र काठमाडौं उपत्यकाका दुई स्थान ‘अति अस्वस्थकर’ रहे । काठमाडौंको शंखपार्क एक्यूआई २१२ र भक्तपुर २०९ एक्यूआईसहित अति अस्वस्थकर बनेका थिए । सोमबार (चैत २५) सोही अवधिमा उपत्यकासहित देशका नौ स्थान अस्वस्थकरको सूचीमा थिए ।

मंगलबार उपत्यभित्र ललितपुरका खुमलटार र भैँसेपाटी तथा उपत्यकाबाहिर चितवनको भरतपुर, इलाम, अछाम, दाङको देउखुरी, मुगुको रारा र कैलालीको धनगढी अस्वस्थकर छन् । पछिल्लो २४ घण्टामा ती स्थानको एक्यूआई १५५ देखि १९५ सम्म मापन भएको विभागको तथ्यांक  छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

कहिले घट्ला वायु प्रदूषण ?
वातावरण विभागका अनुसार, काठमाडौं उपत्यकासहित काभ्रेको धुलिखेल, मकवानपुरको हेटौँडा र चितवनको भरतपुरमा बुधबार (चैत २७)देखि बिहानको समयमा वायु प्रदूषण केही घट्ने सम्भावना छ । काठमाडौंमा बुधबार बिहान साढे ६ बजे पीएम २.५ को मात्रा केही घट्ने देखिए पनि दिउँसो र राति पुनः बढ्ने सम्भावना छ ।

बुधबार मध्यरातबाट बिहीबार बिहान ६ बजेसम्म यो मात्रा केही घटे पनि त्यस दिनभर उच्च रहने सम्भावना छ । सोही साँझबाट भने घट्दै जाने देखिएको छ ।

वातावरण विभागमा पूर्वानुमानका निम्ति भरपर्दो प्रणाली नभएकाले वायु प्रदूषण घट्ने वा बढ्ने यकिन गर्न नसकिने विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् । पर्याप्त वर्षा भएमा मात्र वायु प्रदूषण हट्ने सम्भावना हुने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार दिउँसो काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार भने वर्षाको मात्रा बढ्न सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro