site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिकाले जति नेपाली ‘डिपोर्ट’ गर्छ त्योभन्दा बढी अमेरिकीलाई नेपालले गर्छ !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले ४३ जना नेपालीलाई डिपोर्ट गरेको छ ।  उनीहरू सन् २०२५ जनवरी २० यता डिपोर्ट भएका हुन् । ट्रम्पले आप्रवासीमाथि कडाइ गरेपछि उनीहरू डिपोर्टमा परेका हुन् । 

अघिल्ला वर्षहरूमा पनि अमेरिकाले नेपालीलाई डिपोर्ट गर्थ्यो, तर कुनै हल्लाखल्ला हुँदैनथ्यो । यसवर्ष ट्रम्पले लिएको नीति र संख्या केही बढेका कारण यसले बढी नै चर्चा पाइरहेको छ । 

“अमेरिकाले अघिल्ला वर्षहरूमा पनि नेपालीलाई डिपोर्ट गर्थ्यो । तर, यतिखेर संख्या अलि बढेको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी वरिष्ठ अध्यागमन अधिकृत सिता परियारले बाह्रखरीसँग भनिन् ।

ट्रम्प आएपछि डिपोर्ट हुने नेपालीको संख्या बढे पनि तथ्याङ्कले के भन्छ भने अमेरिकाले वर्ष दिनमा जति जना नेपालीलाई डिपोर्ट (निष्कासन) गर्छ त्योभन्दा बढी संख्यामा अमेरिकीलाई नेपालले डिपोर्ट गर्ने गरेको तथ्यांक छ ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म)मा ४२७ जना विदेशीलाई नेपालले डिपोर्ट गरेको छ । जसमा ४७ जना अमेरिकी नागरिक रहेका छन् । 

सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । जबकि त्यही समयमा नेपालले ५४ जना अमेरिकी नागरिकलाई डिपोर्ट गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ ।  नेपालले डिपोर्ट गर्ने विदेशीमा सबैभन्दा ठूलो चिनियाँको हुने गरेको छ । 

दोस्रो ठूलो संख्या अमेरिकीहरूको छ । २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले १६८ जना चिनियाँलाई डिपोर्ट गरेको छ ।

“अमेरिकाले डिपोर्ट भएका नेपालीमाथि अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र विनाभिसा बसेको जस्ता आरोप लगाइएको छ,” वरिष्ठ अध्यागमन अधिकृत परियारले भनिन् । 
जुन आरोप अमेरिकाले डिपोर्ट हुने नेपालीमाथि लगाउँदै आएको छ नेपालले पनि त्यस्तै आरोप डिपोर्ट गरिएका अमेरिकनमाथि लगाउने गरेको छ ।

डिपोर्टमा पर्ने अधिकांश अमेरिकीहरू नेपालमा ‘ओभर स्टे’ (भिसा सकिएपछि बस्ने) गर्ने छन् ।  यसैकारण नेपालले उनीहरूमाथि अवैध तरिकाले नेपालमा बसोबास गरेको आरोप लगाउने गरेको छ ।  नेपालले सन् २०२४ मा डिपोर्ट गरेका सबै ५४ जना अमेरिकीहरू ‘ओभर स्टे’ गरेका कारण निस्कासनमा परेका थिए । 

सन् २०२४ मा नेपालले ४९६ जना विदेशीलाई डिपोर्ट गरेको थियो । ओभरस्टे, जाली राहदानीको प्रयोग, जाली भिसाको प्रयोग, लागूपदार्थ ओसार–पसार, जबरजस्ती करणी, अभद्र व्यवहार, बालयौन दुरुपयोगलगायतका कसुरमा उनीहरूलाई डिपोर्ट गरिएको थियो । 

उक्त वर्ष ४५१ जना विदेशीलाई ओभर स्टेका कारण डिपोर्ट गरिएको थियो । सन् २०२४ मा नेपालले ६४ देशका नागरिकलाई डिपोर्ट गरेको थियो ।  जसमा १४७ चिनियाँ, ५४ अमेरिकी, ५४ बंगलादेशी, ३५ पाकिस्तानी, २७ बेलायती, १४ युगान्डा, १२ जना अष्ट्रेलियन र बाँकी अन्य देशका थिए ।

२०८१ साउन १ गतेदेखि पुस मसान्तसम्म नेपालबाट डिपोर्ट हुने विदेशीमा १६८ चिनियाँ, ६८ बंगलादेशी, ४७ अमेरिकन, २० बेलायती, १५ पाकिस्तानी, १३ अष्ट्रेलियन र बाँकी अन्य देशका छन् । 

यस्तै सन् २०२३ मा नेपालले २०९ चिनियाँ, ३७ अमेरिकन, १९  बंगलादेशी, १९ उज्वेक, १८ बेलायती, ११ श्रीलंकन, १० पाकिस्तानी, १० स्वीडिस, ९ अफगानीसहित ४५८ जना विदेशीलाई डिपोर्ट गरेको थियो । 

सन् २०२२ मा नेपालले ६५ देशका ५७० जनालाई डिपोर्ट गरेको थियो । जसमा चीनका १९१, अमेरिकाका ४८, बेलायतका ३७, फ्रान्सका १९, पाकिस्तानका १८, दक्षिण कोरियाका १८, क्यानडाका १७, श्रीलंकाका १६, उज्वेकस्तानका १६, बंगलादेशका १० जना र बाँकी अन्य देशका नागरिक थिए । 

सन् २०२१ मा नेपालले २१८ जना विदेशीलाई डिपोर्ट गरेकोमा १९ जना अमेरिकी थिए । सन् २०२० मा ३३२ जना विदेश नेपालबाट डिपोर्ट भएकोमा ८ जना अमेरिकी थिए । 

नेपालबाट डिपोर्ट हुने अमेरिकीको संख्या सन् २०१४ मा २३, २०१५ मा ३५, २०१६ मा २७, २०१७ मा ३८, २०१८ मा ४६ र २०१९ मा २५ थियो । 

नेपाली कति हुन्छन् डिपोर्ट ? 

नेपालीहरू विदेश जानेक्रम बढेसँगै डिपोर्ट भएर फर्किने नेपालीको संख्या पनि बढ्दै छ । सन् २०२४ मा ५६ देशले १ हजार २२८ जना नेपालीलाई डिपोर्ट गरेका थिए ।  सन् २०२४ मा युनाइटेड अरब इमिरेट्स (यूएई)ले सबैभन्दा ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको छ । यूएईले उक्त वर्ष २८२ जना नेपालीलाई डिपोर्ट गरेको थियो । 

यूएईपछि ठूलो संख्यामा नेपाली डिपोर्ट गर्ने राष्ट्र हो जापान । जापानले उक्त अवधिमा ११५ जना नेपालीलाई डिपार्ट गरेको थियो ।  तेस्रो ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गर्ने राष्ट्र हो, मलेसिया । मलेसियाले उक्त वर्ष ११४ जना नेपालीलाई डिपोर्ट गरेको थियो । 

अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२४ मा दक्षिण कोरियाले ७५, कतारले ६७, टर्कीले ६६, अजरबैजानले ४३, भारतले ३९, रोमानियाले ३८, अमेरिकाले ३५, क्रोएसियाले ३३, कुवेतले ३३ र सिंगापुरले ३२ जना नेपालीलाई डिपोर्ट गरेका थिए । 

उक्त अवधिमा थाइल्यान्डले २९, साउदी अरेबियाले २३, माल्दिभ्सले २२, बेलायतले २२, बुल्गेरियाले १६, लाओसले १४, अष्ट्रेलियाले १२, सर्वियाले १२, चीनले ११, साइप्रसले १०, बंगलादेशले ९ र हङकङले ७ जना नेपालीलाई डिपोर्ट गरी पठाएका थिए । 

यस्तै, क्यानडाले ६, दक्षिण अफ्रकाले ६, मेक्सिकोले ५, जर्मनीले ४, फिलिपिन्सले ४, उज्वेकिस्तानले ४, बोलिभियाले ३, माल्टाले ३ र न्युजील्यान्डले ३ जना नेपालीलाई डिपोर्ट गरेका थिए ।  विभागको विवरण अनुसार बहराइन, कम्बोडिया, फ्रान्स, ग्रिस, माल्दोभा, नर्थ म्यासेडोनिया, ओमान, पोल्याण्ड र श्रीलंकाले दुई–दुई जना नेपालीलाई डिपोर्ट गरेका थिए । 

अल्बानिया, अष्ट्रिया, बेलारुस, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, कोलम्बिया, आइभेरी कोस्ट, इजिप्ट, फिनल्याण्ड, गुयना, हंगेरी र रुसले एक–एक जना नेपालीलाई डिपोर्ट गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

सामान्यतया, गम्भीर अपराध गरेका, गैरकानुनी रूपमा देशमा प्रवेश गरेका, आफ्नो भिसाको सर्त तोडेका वा सम्बन्धित देशमा रहन कानुनी हैसियत गुमाएका विदेशीहरूलाई प्रशासनिक रूपमा हटाउन वा देश निकाला (डिपोर्ट) गरिन्छ । 

बितेको करिब चार वर्षमा मात्र विभिन्न देशले ४ हजार ७१८ जना नेपालीलाई डिपोर्ट गरेका छन् ।  सन् २०२१ मा विभिन्न देशले ८८० जना नेपालीलाई डिपोर्ट गरेका थिए । सन् २०२२ मा आइपुग्दा यो संख्या बढेर १ हजार १६७ पुगेको थियो । 

सन् २०२३ मा विदेशबाट डिपोर्ट भई नेपाल फर्कने नेपालीको संख्या १ हजार ४४३ रहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro