site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्याम्पसमा आगजनी र तोडफोड गर्ने चार विद्यार्थी नेता पक्राउ

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र आगजनी गरेको आरोपमा शेखर कोइराला पक्षधर नेविसंघका चार विद्यार्थी नेता पक्राउ परेका छन् ।

स्ववियु निर्वाचनको विवादपछि बुधबार क्याम्पसको निर्वाचन समितिको कार्यालयमा कोइराला पक्षका विद्यार्थीले तालाबन्दी गरेका थिए ।‌ त्यही क्रममा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–२ घर भइ विराटनगर बस्दै आएका नेविसंघका योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र बुढीगंगा नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वासलाई छन् ।‌ योगराज कोइराला पक्षबाट स्ववियु सभापति उमेदवार हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले अलग अलग मनोनयन दर्ता गरेपछि विवाद भएको हो ।

महेन्द्र मोरङ क्याम्पसमा नेता शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजंग विष्टको प्यानल दर्ता भएको थियो । तर, कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।‌ विवाद बढेपछि नेविसंघका विद्यार्थीले तोडफोड र आगजनी गरेको बताइएको छ ‌। ताला भने प्रहरीले तोडेको थियो । आगजनी र तोडफोड विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ‌।

नेविसंघका मोरङ सभापति सरोज पोखरेलले केन्द्रले परिपत्र गरे पनि समितिले मध्यरातमा स्वतन्त्र उल्लेख गरी नामावली प्रकाशन गरिदिएको बताए । "हाम्रो आधिकारिकतालाई चुनैती दिएकोले तालाबन्दी गरेका थियौँ," उनले भने ।  

मोरङ क्याम्पसमा यसअघि इकाइ गठनको विषयमा विवाद भएपछि नेविसंघका दुई खेमाले एकआपसमा कुटाकुट गरेका थिए ।‌ त्यस क्रममा जिल्ला सभापति पोखरेल घाइते भइ अस्पताल भर्ना भएका थिए ।

नेविसंघको महेन्द्र मोरङ घटनापछि संस्थापन पक्षले जिल्ला सभापतिमा मोहम्मद तनवीरलाई चयन गरिएको केही दिनअघि घोषणा गरेको थियो ।

नेविसंघ केन्द्रीय सदस्य एरिका ढकालले केन्द्रद्वारा तोकिएको प्रतिनिधिको रोहवरमा मनोनयन दर्ता गरिएको बताइन् । उनले भनिन्, "महेन्द्र मोरङमा केन्द्रले नतोकी मनोनयन दर्ता गराउनेहरूको स्वतन्त्र मानेर नामावली प्रकाशन भएको हो ।" उनले कोइराला पक्षको नाममा मनोनयन दर्ता गराउनेहरू वैधानिक उमेदवार नभएको दाबी गरिन् ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro