site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६२ यात्रुको जीवन जोखिममा पार्नेगरी बुद्धको त्यो लापरवाही... 

काठमाडौं । ६२ यात्रुको जीवन जोखिम पार्ने गरी बुद्ध एयरले गम्भीर लापरवाही गरेको विज्ञले टिप्पणी गरेका छन् । गत बिहीबार जनकपुरबाट काठमाडौं उडानका क्रममा अगाडिको एउटा टायर उतै छुटाएर गम्भीर लापरवाही गरेको हो । 

जानकारहरूका अनुसार उक्त विमानले समयमै आफ्ना पार्टपुर्जा जाँच नगर्दा ६२ यात्रुको जीवनमाथि गम्भीर लापरवाही गरेको देखियो । फागुन २२ गते बिहीबार ६२ यात्रु बोकेको ९एन–एएनएच कलसाइन विमान जनकपुरबाट काठमाडौं आइपुगे पनि अगाडिको टायर उतै छुटेको थियो । 

जनकपुरबाट काठमाडौंको लागि बेलुका ५ः४५ मा उडेको विमानको अगाडिको टायर उतै छुटेको थियो । 

टायर जनकपुर छाडेर विमान उडाउने बुद्ध एयरमाथि के हुन्छ कारबाही ?

उड्दा ‘नोज ल्यान्डिङ गियर’को एउटा टायर जनकपुर विमानस्थलको टर्निङ प्वाइन्टमा भेटिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उक्त जहाजको टायर जनकपुरमा छुटेको काठमाडौंमा आएर ‘पोस्ट फ्लाइट चेक’ गर्दा भेटिएको थियो ।  उक्त जहाजको टायर छुटेको कुरा स्टाफ र पाइलट कसैले पनि थाहा पाएनन् । 

बुद्ध एयरकै एक पाइलटका अनुसार पछिल्लो समय कम्पनी ‘विजनेश फोकस’ हुँदा लापरवाही बढेको छ । 

“अरू कम्पनीको फ्लाइट असुरक्षित रहेको भनेर प्रचार भएपछि हाम्रोमा यात्रुको चाप छ,” उनले भने, “यात्रुहरूको संख्या बढेपछि समस्या भए पनि उडान गर्नुपर्ने बाध्यता छ ।”

बिहीबारको घटना कम्पनीको ठूलो लापरवाहीमध्येको एक रहेको उनको भनाइ छ ।  “कुनै कुरा मिडियाले थाहा पाए मात्रै हो नत्र यस्ता कुराहरू त भित्रै दबिन्छन्,” उनले भने । 

६२ यात्रु बोकेको ९एन–एएनएच कलसाइन विमान जनकपुरबाट काठमाडौं उडानमा लापरवाही गरेको नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बु बताउँछन् । 

“मेन्टिनेन्स वा सिस्टम म्यानुअल ओभरसाइट जस्तो देखिन्छ । नोज ह्विलमा दुईवटा चक्का हुन्छ । त्यसलाई नटले टाइअप गरेको हुन्छ,” उनले भने, “नट लुज हुँदा दुईवटा चक्कामध्ये बायाँतर्फको फुस्कियो । धन्न दुइटै फुस्किएन । इन्जिनियरले डेली, विक्ली, मन्थ्ली रूटिन चेकमा ओभर साइट भएको हुन सक्छ ।”

अगाडिको दुईवटा चक्का नटबोल्टले जोडेको हुने र उक्त नटबोल्ट खुला भएको र चक्का फुस्किने अवस्था निकै गम्भीर भएको लिम्बु बताउँछन् । 

“नटबोल्ट समेत चेक नगर्नु भनेको सेफ्टीलाई आँच आउने कुरा हो,” उनले भने, “यस्ता कुरा सिभिल एभिएसनले राम्रोसँग रिभ्यु गर्नुपर्छ । यो कम्पनीको नेक्लिजेन्स हो ।”

विमानको नोज ह्विलमा रहने दुईवटा टायरमा एउटा रहँदा पाइलटलाई भने जानकारी नहुने लिम्बु बताउँछन् ।  “दुईवटा चक्का छ कि एउटा छ भन्ने पाइलटको इन्डिकेशनमा आउँदैन, यसलाई कम्पनीका इन्जिनियरले राम्रोसँग हेर्नुपर्थ्यो,” उनले भने । 

क्यानका अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समय बुद्धका विमानमा लगातार समस्या देखिइरहेको छ । 

०७९ चैत १३ मा टेकअफमा समस्या, ०८१ भदौ ३१ मा ह्विल लक हुँदा उड्न नसक्ने समस्या देखिएको बुद्धको जहाज ०८१ असार २७ राति साढे ९ बजे भैरहवामा चिप्लिएर धावन मार्गबाहिर पुगेको थियो । 

कम्पनीको बिजनेशमा असर पर्ने भएका कारण धेरै समस्याहरू कम्पनीले निकै ढाकछोप गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारी बताउँछन् ।  यात्रुले आँखा चिम्लेर विश्वास गर्न थालेपछि बुद्धले कतिपय समस्या नजरअन्दाज गर्न थालेको देखिएको ती अधिकारीको टिप्पणी छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro