site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वार्षिक साढे तीन लाख आम्दानी गर्ने श्रमिक गरिबीको रेखामाथि पर्दैनन् : खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रमिकको ज्यालाको दर कम रहेको बताएका छन् । सोमबार (फागुन २६) काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा उनले वार्षिक साढे तीन लाख रुपैयाँ आम्दानी गर्ने व्यक्तिले परिवारलाई गरिबीको रेखामाथि उकास्न नसक्ने बताए ।

“पछिल्लो राष्ट्रिय जीवनस्तर मापन सर्वेक्षणले गरेको अनुमानलाई आधार मान्ने हो भने तीन लाख ५० हजार रुपैयाँभन्दा काम आम्दानी गर्ने जो श्रमिक हो र परिवारको ऊ एउटा मात्रै आम्दानी गर्दै छ भने त्यो आम्दानीले त्यो परवारलाई गरिबीको रेखामाथि लैजान सक्दैन,” खतिवडाले भने । 

हाल वार्षिक औसत ज्याला डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म हुन आउने सर्वेक्षणले देखाएको उनले बताए । “आधारभूत ज्यालाकै कुरा गर्दा पनि कुनै क्षेत्रमा डेढ लाख, कुनै क्षेत्रमा दुई लाख र बढीमा अढाई लाख भएको स्थिति रहेको छ,” उनले भने, “यो ज्यालालाई हामीले कसरी व्याख्या गर्ने ? उत्पादकत्वसँग जोडेर हेर्‍यो भने ज्याला कम छ, तर उत्पादकत्व पनि कम छ ।”

उत्पादकत्व न्यून भएकाले ज्याला पनि कम भएको भन्न रोजगारदातालाई सजिलो भएको उनको भनाइ थियो ।

हालकै अवस्थामा रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीमा जानेलाई एकैपटक रोक्न सम्भव नहुने उनले उल्लेख गरे । “वैदेशिक रोजगारीमा जानेलाई रोक्छौँ भन्यौँ भने एकै वर्षमा २० लाखभन्दा बढीलाई रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ, त्यो अहिले हामी सक्दैनौँ,” खतिवडाले भने, “वैदेशिक रोजगारीलाई व्यवस्थित र प्रतिफलमूलक बनाउने र वैदेशिक रोजगारीबाट फर्किएकालाई श्रमबजारमा आबद्ध गर्नुपर्छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अरू मुलुकसँग सम्झौता गर्दा श्रमिकका विषयमा स्पष्ट हुनुपर्ने पनि उनले बताए । “नेपालमा रहँदा नेपाल सरकार र विदेशमा जाँदा रोजगारदाताले सामाजिक सुरक्षा दिने व्यवस्था गर्नुपर्छ । आगामी १० वर्ष रोजगार दशक मनाइरहँदाखेरि एक दशकपछि हामीले वैदेशिक रोजगारीमा नजाने अवस्था सिर्जना गर्न सकिन्छ,” उनले भने ।

रोजगारीको स्रोत आर्थिक क्रियाकलाप रहेको उनले स्पष्ट पारे । आर्थिक वृद्धिलाई ६ प्रतिशतभन्दा माथि निरन्तर उकासेर लैजानुपर्नेमा उनले जोड दिए ।

“हाम्रा सामाजिक संस्थाहरू – खास गरी सहकारी संस्थाहरूलाई रोजगारीमूलक क्षेत्रमा लगाउनुपर्छ,” खतिवडाले भने, “निजी क्षेत्रले कामका अवसर सिर्जना गर्नुपर्छ ।” 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro