site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक सहायता प्रतिबद्धता : सबैभन्दा बढी ऊर्जामा, कम सुशासन क्षेत्रमा 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा सबैभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता ऊर्जा क्षेत्रमा प्राप्त भएको छ । ०८१ साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा सबैभन्दा कम वैदेशिक सहायता प्रतिबद्धता सुशासन क्षेत्रमा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

ऊर्जामा २७.४ र सुशासन क्षेत्रमा ०.२ प्रतिशत सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्म कुल दुई खर्ब पाँच अर्ब ८४ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा यस्तो प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये २६.६ प्रतिशत अनुदान छ । ७३.४० प्रतिशत ऋण छ ।

चालु आर्थिक वर्षको पुसमा मात्र नेपालले एक खर्ब नौ अर्ब १२ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्राप्त गरेको छ । यो भनेको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्राप्त कुल वैदेशिक सहायता प्रतिबद्धाताको ५१ प्रतिशत हो ।

अर्थ मन्त्रालयका अनुसार, चालु आर्थिक वर्षको साउनमा १६ अर्ब पाँच करोड, भदौमा २१ अर्ब १३ करोड, कात्तिकमा २९ अर्ब ५८ करोड, मंसिरमा २९ अर्ब ९६ करोड २० लाख र पुसमा एक खर्ब नौ अर्ब १२ करोड २० लाख रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । असोजमा नेपालले कुनै वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छैन ।

प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये ५६ अर्ब ४१ करोड ३० लाख ऊर्जामा, ३२ अर्ब २० करोड ६० लाख वातावरण तथा जलवायुमा, २८ अर्ब ४७ करोड ८० लाख सिँचाइमा, २५ अर्ब ५३ करोड ४० लाख खानेपानीमा, २० अर्ब १३ करोड २० लाख विपद् व्यवस्थापनमा, १३ अर्ब ४३ करोड रुपैयाँ यातायात क्षेत्रमा छ ।

यस्तै, नौ अर्ब ४५ करोड कृषिमा, नौ अर्ब ३५ करोड २० लाख सामाजिकमा, पाँच अर्ब ५७ करोड ७० लाख वन तथा वातावरणमा, तीन अर्ब ४४ करोड पौष्टिक आहारमा, एक अर्ब ४० करोड ९० लाख पूर्वाधार र ४२ करोड ३० लाख रुपैयाँ सुशासनका क्षेत्रमा वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वैदेशिक सहायता परिचालन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.३ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा ६६ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

परिचालित वैदेशिक सहायतामा सात खर्ब ७२ करोड अनुदान र ५९ अर्ब तीन करोड रुपैयाँ ऋण छ ।

गत आर्थिक वर्ष २०८०/८१ को पुससम्म वैदेशिक अनुदान सात अर्ब ३७ करोड र वैदेशिक ऋण ३४ अर्ब २७ करोड गरी कुल ४१ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक सहायता परिचालित थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro