site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपांगता भएकी युवतीलाई ६३ वर्षीय अवकाशप्राप्त शिक्षकले बलात्कार गरेपछि....

काठमाडौं । अर्घाखाँचीकी रविना (नाम परिवर्तन) अशक्त तथा बौद्धिक अपांगता भएकी युवती हुन् । उमेरले २६ वर्ष पुग्दा पनि शारीरिक अशक्तताका कारण उनमा न कहिल्यै बालसुलभता देखियो न त युवतीमा हुने परिवर्तन नै देखापर्‍यो ।

उनी सामान्य घरायसी काममा मात्रै व्यस्त रहिन् । कहिले आफ्नो घर त कहिले छिमेकीको घरमा समेत काम सघाउन जान्थिन् रविना ।
 
गत वर्षको असारमा भने रविनाको शारीरिक अवस्थामा एकाएक फेरबदल आउन थाल्यो । रविनाको अवस्था देखेपछि छिमेकीलाई लाग्यो– कतै उनी गर्भवती त भइनन् !

रविनाकी आमालाई चिन्ता लाग्यो । उनले रविनालाई सन्धिखर्कस्थित जिल्ला अस्पतालमा जाँच गर्न लगिन् । रविनाको ‘प्रेग्नेन्सी टेस्ट’ गराइन् । आशंका लागेजस्तै रिपोर्ट पोजिटिभ आयो । रविनाको आमा आश्चर्यमा मात्रै परिनन्, उनको होस् हवास नै उड्यो ।

अपांगता भएकी छोरी कसरी गर्भवती भइन् ? कसले बलात्कार गर्‍यो ? रविना गर्भवती भएको हल्ला गाउँभरि फैलियो । रविनालाई बलात्कार गर्नेको खोजी सुरु भयो ।

तर, बौद्धिक अपांगता भएकी रविनाले कसले आफूलाई बलात्कार गर्‍यो भन्न सकिनन् । यता गर्भ भने बढ्दै गयो । छिमेकीले रविनामाथि कुदृष्टि लगाउनेको खोजी तीव्र पार्दै गए ।

छिमेकीको सहयोग र लामो प्रयासपछि रविनालाई बलात्कार गर्नेको सुराक परिवारले एक महिनापछि पाए । रविनालाई घरमा सहयोगका लागि काम गर्न बोलाउने समाजका प्रतिष्ठित मानिएकामध्येकै एक वृद्ध पुरुषले बलात्कार गरेको खुल्यो ।

रविनालाई घरमा काम गर्ने उद्देश्यले बोलाएर बलात्कार गर्ने पुरुष केही समयअघि मात्रै शिक्षक पेसाबाट अवकाश पाएका अर्घाखाँची सन्धिखर्क–१२ का गोविन्दप्रसाद बस्याल थिए । 

उनीविरुद्ध परिवारले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जोहेरी हालेपछि बस्याल फरार भए ।

बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

प्रहरीले गोविन्दप्रसाद बस्यालमाथि खोजीकार्य जारी नै राखेको थियो । तर, लामो अनुसन्धानपछि उनी भारत भागेको खुल्यो । प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

यता, रविनाको गर्भको बच्चा हुर्किंदै गयो । परिवार र आफन्तले समेत बलात्कार गर्ने बस्याललाई नै रविना जिम्मा लगाउने भन्दै गर्भपतनबारे कुनै प्रक्रिया थालेन । गएको कात्तिकमा रविनाको कोखबाट छोराको जन्म भयो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बच्चा र रविनाको हेरचाह गर्न एक सेफ हाउसको जिम्मा लगाएको छ ।

रविनाको कोखबाट बच्चा जन्मिएपछि भने गोविन्दप्रसाद बस्यालसमेत अर्घाखाँची फर्किएको सूचना प्रहरीले पायो । सोही सूचनाका आधारमा अर्घाखाँची प्रहरीले बस्याललाई आइतबार पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बस्याललाई पक्राउ गरेर अनुसन्धान सुरु भएको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बस्यालले घरमा काम गर्न बोलाउने र आफ्नो घरका सदस्य कोही नभएको मौका छोपेर रविनालाई बलात्कार गर्ने गरेको खुलेको छ ।

बस्याललाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अर्घाखाँची जिल्ला अदालतले पहिलोपटक पाँच दिनको अनुमति दिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro