site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकमा गोरखा भूकम्पपछिको पाँचौँ ठूलो धक्का, कहिलेसम्म आउँछ परकम्प ?
सिन्धुपाल्चोकको भोटेचौर बजारको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष पूरा हुन लागेको छ । त्यसको परकम्प अझै मापन गरिँदै छ । सानाठूला गरेर गोरखा भूकम्पका ६० हजारभन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रबार बिहान (फागुन १६) २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए ।

गोरखा भूकम्पको यो पाँचौँ ठूलो परकम्प हो । उक्त भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ६०२ परकम्प मापन गरिएको उनले जानकारी दिए ।

०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो भूकम्प र परकम्पमा करिब नौ हजारजनाले ज्यान गुमाए । २२ हजारभन्दा धेरै मानिस घाइते भए । ठूलो भौतिक क्षति पनि भयो ।

केन्द्रका अनुसार, त्यही भूकम्पका ६ म्याग्निच्युडदेखि माथिका सात परकम्प मापन गरिएको छ । तिनै सातमध्येको एक हो, शुक्रबार बिहानको सिन्धुपाल्चोकको धक्का ।

केन्द्रका अनुसार, गोरखा भूकम्प गएकै दिन अर्थात् सोही वैशाख १२ गते नै बारपाक आसपासै केन्द्रविन्दु भएको ६.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

त्यसको भोलिपल्ट वैशाख १३ मा दोलखा केन्द्रविन्दु भएको ६.९ र सोही वैशाख २९ गते दोलखा नै केन्द्रविन्दु भएका दुइटा क्रमशः ६.२ र ७.३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो । गोरखा भूकम्पको त्यसपछिको ठूलो परकम्पका रूपमा शुक्रबारको धक्का भएको केन्द्रले जनाएको छ ।

यसबाहेक ६ म्याग्निच्युडदेखि माथि अरू दुई परकम्प मापन भइसकेको छ । ०७७ भदौ ३० मा सिन्धुपाल्चोकमा ६.० र ०८० कात्तिक ५ गते धादिङमा ६.१ म्याग्निच्युडको परकम्प मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

परकम्प पनि भूकम्पीय धक्का नै हो । यो यति समयसम्म आउँछ भनेर यकिन गर्न नसकिने भूकम्पविद् बताउँछन् । अमेरिकामा एउटै भूकम्पको परकम्प २०० वर्षसम्म पनि आइरहेको उदाहरण रहेको केन्द्रका अर्का भूकम्पविद् लोकविजय अधिकारीको भनाइ छ ।

सानो म्याग्निच्युडको भूकम्पको परकम्प थोरै समयसम्म आउने हुन्छ । ठूलो भूकम्पको परकम्प लामो समयसम्म आउने भूकम्पविद् बताउँछन् । सिन्धुपाल्चोको पछिल्लो ठूलो धक्काकै केही परकम्प मापन भइसकेको छ ।

भूकम्पविद्का अनुसार, पूर्ववत् अनुपातमा नफर्कुन्जेलसम्मको अवस्थालाई परकम्प भनिन्छ । त्यो भनेको मुख्य भूकम्प जानुभन्दा अगाडिको अवस्थामा नफर्कंदासम्म दरार क्षेत्रमा मापन गरिने कम्पन परकम्प हुन्छ ।

परकम्पका विषयमा ०८१ वैशाख १२ गते बाह्रखरीमा प्रकाशित सामग्री पढ्नोस्–

पश्चिम नेपालमा धक्का, गोरखा भूकम्प, परकम्पलगायत विषयमा भूकम्पविद् लोकविजय अधिकारीसित यसअघि बाह्रखरीले गरेको कुराकानी–

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro