site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसम परिवर्तनसँगै हुने समस्याबाट शिशुहरूलाई कसरी जोगाउने ?

काठमाडौं । जाडोयाम र त्यसलगत्तै हुने मौसम परिवर्तनले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको हुन्छ । विशेषगरी पाँच वर्षमुनिका शिशुमा यी सिजनमा धेरै स्वास्थ्य समस्या देखिन्छन् ।

कान्ति बाल अस्पतालमा यो सिजनमा ल्याइने बालबालिकामा साधारण रुघाखोकीदेखि घाँटी तथा छातीको संक्रमण र निमोनिया धेरै देखिने गरेको छ । विशेषगरी रातिको समयमा नाक बन्द हुने, लगातार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, ज्वारे आउने हातखुट्टामा बिमीरा देखिने जस्ता लक्षण उनीहरूमा देखिन्छन् । 

बोल्नसक्ने बालबालिकाले आफूमा भएको समस्या अभिभावकलाई बताउने भएकाले उनीहरूको समस्या पहिचानमा केही सजिलो हुन्छ । तर, दुई वर्षमुनिका बालबालिकामा यस्ता समस्या धेरै देखिने हुँदा अभिभावकले आत्तिएरै अस्पतालसम्म ल्याइपुर्‍याउने गरेका छन् । 

बोल्न नसक्ने उमेरका शिशुहरूको समस्या कसरी थाहा पाउने ?
मौसमअनुसार बालबालिकामा हल्का रुघाखोकी र ज्वरो देखिनु स्वभाविक हो । वरिष्ठ बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठका अनुसार दुई वर्षमुनिका बालबालिकामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने खाना खान मन नगर्ने जस्ता समस्या धेरै देखिन्छ । 

यी समस्या हेर्दा निमोनिया जस्तो देखिन्छ, तर निमोनिया जस्तै लक्षण बोकेको अर्को समस्या हुन्छ, जसलाई ब्रोङकोइलाइटिस् भनिन्छ । हेर्दा यी दुवै समस्या उस्तै देखिन्छन् तर निमोनिया जस्तो जटिल समस्या यो होइन । 

साधारणतया जाडोकाकारण बालबालिकामा देखिएका अधिकांश भाइरलका लक्षण निमोनिया जस्तै देखिन्छन् । तर निमोनिया हुँदा बालबालिकामा छिटो छिटो श्वास फेर्ने, कोखा हान्ने अरु समयमा जस्तो खाना खान मन नगर्ने, धेरै रुने झगडा गर्ने जस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा बालबालिकालाई तुरुन्तै विशेषज्ञकहाँ पुर्‍याउनुपर्ने हुन्छ ।

बालबालिकामा जाडोका कारण विभिन्न स्वास्थ्य समस्या देखिए पनि साविकको जस्तो खाना खाइरहेका छन् अरु समयमा जस्तै खेल्ने चल्ने गरिरहेका छन् भने यस्तो अवस्थामा आत्तिनु पर्दैन । रातिको समयमा नाक बन्द भएमा मनतातो पानीमा कपास भिजाएर नाक सफा गरिदिनुपर्छ, त्यस्तै नुनपानीमा नरम कपडा भिजाएर पनि सफा गरिदिन सकिन्छ । 

पछिल्लोसमय विद्यालय जाने उमेरका बालबालिकामा घाँटीको इन्फेक्सन धेरै दखिने गरेको छ । यो अवस्थामा उनीहरूलाई नुनपानीले घाँटी कुल्ला गर्न लगाउनुपर्दछ । नाक थुनिएको अवस्थामा सादापानीको वाफ लिन लगाउनुपर्दछ । 

नाक खुलाउनको लागि भिक्स सन्चो जस्ता औषधिको प्रयोग गर्नु त्यति उचित हुँदैन । यस्ता वस्तुले बालबालिकाको छालामा असर गर्नसक्छ भने उनीहरूमा झन इरिटेसन बढाउनसक्छ । उनीहरूलाई घरमै पाकेको खानेकुरामा जोड दिनुपर्छ ।

पकाएको ताजा खानेकुरा र फलफूलले उनीहरूलाई फाइदा पुर्‍याउँछ । ताजा फलफूलले जाडो गर्मी कुनै पनि महिनामा बालबालिकालाई असर गर्दैन ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro