site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीकै मिलेमतोमा भागेका दिपक, १२ वर्षपछि भारतमा जब डाँकाचोरी गरे... 

काठमाडौं । २०६० को दशकतिर कैलाली–कञ्चनपुर जिल्लामा देवबहादुर सिंह उर्फ दिपक बहादुर सिंह चर्चामा थिए । कुनै राम्रो कर्म गरेर होइन । अपराधको दुनियामार्फत उनी चर्चाको शिखरमा थिए । उनको अघि कोही ठूलो स्वरमा बोल्न सक्तैन थिए । 

व्यवसायीहरुलाई चन्दा असुली गर्न पुग्दा हस् हजुर ‘राजा’ भन्दै फिरौती बुझाउँथे ।  त्यो बेला व्यवसायीहरुलाई लाग्थ्यो दिपक सिंहलाई चन्दा बुझाउँदा आफ्नो ज्यान जोगियो । तर, उनको त्यो अपराध कर्म धेरै लामो समय भने टिकेन ।

दिपकलाई कैलाली प्रहरीले २०६६ असार १० गते कैलालीको गोदावरीबाट पेस्तोलसहित पक्राउ गर्‍यो ।  त्यो बेला कैलाली प्रहरीले उनीमाथि हातहतियार खरखजना मुद्दामा मात्रै अनुसन्धान गरेको थियो ।  हातहतियार कसुरमा जिल्ला अदालतले दिपकलाई एक वर्ष कैद सजायको फैसला गर्‍यो । उनी जेल पुगे ।

२०६४ फागुन २४ मा गोदावरी–७ कै युवा बमबहादुर साउदको गोली हानी हत्या भएको थियो ।  राति हिँडिरहेको अवस्थामा गोली प्रहार गरिएका कारण हत्याको अनुसन्धान जारी थियो । प्रहरीले हातहतियार मुद्दामा कैद भोगिरहेका दिपकमाथि नै अनुसन्धान गरिरहेको थियो । 

प्रहरीको अनुुसन्धानका क्रममा पछि दिपक सिंहकै संलग्नता पुष्टि गर्‍यो ।  बमबहादुरको हत्या कसुरमा भने कैलाली जिल्ला अदालतले दिपकलाई २०६७ मंसिर २७ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनायो । तर, कारागारभित्र रहँदा पनि उनको अपराध कर्म रोकिएन । जन्मकैदको सजाय सुनाएको दुईवर्ष मै कैलाली जेलबाट दिपक भाग्न सफल भए ।

२०६९ साउन २२ मा कैलाली कारागार तोडेर उनी भागेका थिए । प्रहरीको अनुसन्धानका क्रममा दिपकले कारागारमा खटिएका प्रहरीलाई नै प्रभावमा पारेर भागेको खुलेको थियो ।

सोही आरोपमा कैलाली प्रहरीले कारागारमा खटिएका तत्कालीन प्रहरी नायव निरीक्षक लोकबहादुर बोहरा, प्रहरी हवल्दार गणेश चन्द र प्रहरी जवान दिलबहादुर टमटाविरुद्ध मुद्दा नै चलाएको थियो ।

हाल यो मुद्दा जिल्ला अदालतको मुल्तबीमा राखेको छ ।

१२ वर्षपछि पुनः पक्राउ

नेपालीमा उखान छ– १२ वर्षपछि खोला फर्किन्छ । दिपकको जीवनमा पनि यही उखान मेल खान गयो । अपराधकर्म सजायमा जेल जीवन नभोगी कारागार नै तोडेर भागेका उनी अन्ततः १२ वर्ष पछि पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिपकलाई बुधबार बिहान कञ्चनपुरबाट पक्राउ गरेको हो । 

उनलाई कैलाली प्रहरीको विशेष टोलीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको कैलाली प्रहरी प्रमुख एसपी पदम विष्टले जानकारी दिए ।

एसपी बिष्टले उनलाई कञ्चनपुरबाट पक्राउ गरेको बताए पनि उनी भारतबाट पक्राउ गरी नेपाल ल्याइएको कैलालीका अर्का एक प्रहरी अधिकारीले बताए ।  उनी भारतको महाराष्ट्रको एक जेलबाट निस्केलगत्तै पक्राउ परेका हुन् ।

ती अधिकारीले भने,‘‘दिपकको अपराध कर्म कैलाली कञ्चनपुरमामात्रै सीमित थिएन । भारतमा समेत डाँका चोरीका दर्जनौं कसुर छन् । त्यसमध्ये एउटा कसुरमा उनी महाराष्ट्रको जेलमा थिए । त्यहाँबाट छुट्नासाथ उनलाई भारतीय प्रहरीले कैलाली प्रहरीको जिम्मा दिएको हो ।’’

भारतमा नेपालीले डाँका चोरी गर्ने हरेक घटनामा उनको सलंग्नता देखिने गरेको कैलाली प्रहरीको भनाइ छ ।  सधैं पेस्तोलसहित हिँड्ने दिपकलाई पक्राउ गर्न जाँदा प्रहरीले समेत उच्च सर्तकता अपनाएर मात्रै जानुपर्ने अवस्था सृजना गराएका थिए ।

दिपकमाथि २०६२ असोज २ गते कैलाली गोदावरीकै मानबहादुर सुनारको हत्या गरेको समेत अभियोग छ ।  सुनारको हत्या अभियोगमा दिपकसहित तेजबहादुर बडैला, मोेहन सिंह बडैलासमेत प्रतिवादी थिए । तर, उक्त हत्या प्रकरणको मिसिल भने जिल्ला अदालत कैलालीले प्रहरीलाई दिएको छ ।

यो घटनाबाहेक दिपक सिंहविरुद्ध कैलाली धनगढी फुलबारीका सोभान टमाटालाई २०६५ असार ३ मा अपहरण तथा शरीर बन्धकको मुद्दा जिल्ला अदालत कैलालीमै त्यही बेला दर्ता भएको थियो । यी बाहेक अन्य दर्जनौं अपराध दिपकमाथि रहेको एसपी विष्टको भनाई छ ।  उनी बुधबार नै सर्वस्वसहित कैद सजाय भोग्न कारागार चलान भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro