site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिरामीले अब अस्पतालैपिच्छे परीक्षण दोहोर्‍याउन नपर्ने !
फाइल तस्बिर ।

काठमाडौं । अब बिरामीको एउटै परीक्षण स्वास्थ्य संस्थापिच्छे दोहोर्‍याउन नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ जारी गरेसँगै यस्तो व्यवस्था हुने भएको हो । 

निर्देशिका अनुसार, एक संस्थामा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीयरूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेछन् । सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले अब एकअर्कासँग बिरामीका तथ्यांक तथा विवरण सेयर गर्न मिल्ने गरी सो प्रणालीमा अभिलेख राख्नुपर्नेछ ।

प्रणालीमार्फत बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुने अपेक्षा गरिएको छ । साथै, नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने विश्वास छ ।

“रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार परोस् भन्ने हाम्रो चाहना हो यसले परीक्षणको दोहोरोपना रोक्न र प्रभावकारी सेवा दिन पनि सघाउ पुग्ने अपेक्षा छ,” स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने ।

हाल विद्युतीय प्रणाली अस्पतालहरूमा लागु भए पनि एकअर्काबीच तथ्यांक आदानप्रदान गर्ने खालका छैनन् । जसकारण बिरामीले पटकपटक एकै खालका विवरण हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । 

अब स्वास्थ्य संस्थाहरूले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा पहुँच दिनुपर्नेछ ।

प्रणालीमा बिरामीको पहिचान नम्बरका आधारमा स्वस्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने निर्देशिकामा छ ।

बिरामीको चिकित्सकीय सेवाबापतको भुक्तानीसमेत अनलाइन हुने व्यवस्था गरिएको छ ।

प्रणालीमा नाम दर्तादेखि सेवाग्राही, आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंक, बेड मोड्युल हुनुपर्ने निर्देशिकामा छ ।
मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा संलग्न स्वास्थ्यकर्मी बाहेकलाई सूचनामा पहुँच नहुने तथा सरकारले कानुनबमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्ने गरी प्रणाली सञ्चालन गर्नेछ ।

मन्त्रालयले यस प्रणाली तीनै तहमा र हरेक स्वास्थ्य संस्थामा विद्युतीय अभिलेखका लागि एउटा एकाइ बेग्लै एकाइ रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro