site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

भौतिक विकास र उन्नत प्रविधिको प्रयोगबाट सधैँ सबैको भलो नै हुन्छ भन्न सकिँदैन । बेलैमा उचित सन्तुलन हुन नसके उन्नत देखिने कतिपय सेवा र साधनहरूको प्रयोगले परम्परागत प्रविधि तथा सेवाका आधारमा गुजारा चलाउनेहरूको आजीविकासमेत सङ्कटमा पर्नसक्छ । 

जनकपुरमा रिक्सा चलाएर परिवार पाल्नेहरूको आजीविका अटो रिक्साको बढ्दो प्रयोगले सङ्कटमा परेको छ । नगरभित्रको आवागमन पनि यात्रुहरूको रोजाइमा सजिलो र छिटो अटोरिक्सा परेपछि रिक्सा चालकहरूको गुजारा सङ्कटमा परेको हो ।

यसरी छोटो दूरीको र मूलतः नगरभित्रको आवागमनमा रिक्सालाई अटो रिक्साले विस्थापित गर्दै लगेको जनकपुरमा मात्र होइन । सबैजसो नगरहरू र नगरोन्मुख गाउँहरूमा समेत आधुनिक प्रविधिको प्रयोग बढेसँगै यस्ता समस्याहरू देखिइरहेका छन् ।

उन्नत प्रविधि वा आधुनिक साधनहरूको प्रयोग रोक्न सकिँदैन र हुँदैन पनि । यस्तै, रिक्साजस्ता परम्परागत साधनबाट गुजारा गर्नेहरूको रोजीरोटी खोसिन पनि राज्यले दिन मिल्दैन । नागरिकको बाँच्ने अधिकारमा रोजगारी पनि त पर्छ । 

रिक्सा चालकलगायत परम्परागत सेवा व्यवसायबाट गुजारा चलाउनेहरूको आजीविकाको रक्षा गर्न सबै तहका सरकारहरू बेलैमा संवेदनशील नहुने हो भने त्यसको अकल्पनीय परिणाम हुनसक्छ । कारण, यस्तो सेवा व्यवसायबाट गुजारा चलाउनेहरूसँग अर्को काम गर्ने सीप, पुँजी र कतिपय अवस्थामा त उमेरसमेत हुँदैन ।

यसैले पहिले रिक्सा चालकहरूकै समस्या समाधानबाट सुरु गरेर राज्यले यिनको जीविकोपार्जनको व्यवस्था मिलाउन सक्छ । जनकपुरमा रिक्सा र अटो रिक्साका लागि रुट छुट्याउने सुझाव दिइएको देखियो । रिक्साबाट अटोरिक्सामा जाने सङ्क्रमणकालीन अवधिका लागि रुट अलग्ग तोकिदिनु एउटा उपयुक्त उपाय हुनसक्छ ।  

रिक्सा चालकलगायत शारीरिक श्रममा आधारित व्यवसायबाट गुजारा चलाउनेहरूमध्ये धेरैले साधन भाडामा लिने गरेका हुन्छन् । उनीहरूको दैनिक कमाइको ठूलो हिस्सा भाडामै खर्च हुनपुग्छ । दिनरात परिश्रम गरेर जति नै पसिना बगाए पनि अन्ततः तिको हात रित्तै हुन्छ ।

यस्ता परिश्रमीहरूलाई स्थानीय तह जमानी बसेर रिक्साजस्ता साधन बैंकको ऋणबाट किनिदिने हो र संघ वा प्रदेशले त्यसको बिमा खर्च बेहोरिदिने हो भने बिस्तारै उनीहरू स्वरोजगार हुनेछन् । त्यसले उनीहरूको परिवारलाई गरिबीको घेराबाट बाहिर निस्कन सहयोग पुग्नेछ । 

यस्तै उपाय अटोरिक्सा, ट्याक्सी, माइक्रो चालकहरूका लागि पनि लाभदायी हुनसक्छ । गरिबी निवारणका लागि करोडौंको अनुदानभन्दा सम्भवतः यस्तै सामान्य उपायहरू प्रभावकारी भएको देखिएको छ । यसैले पहिले चरणमा रिक्सा चालकलाई रुट तोकिदिने र रिक्सा किन्न सहयोग गर्ने, दोस्रो चरणमा उनीहरूको लगन र चाहनाअनुसार अर्को व्यवसायमा जान मद्दत गर्ने हो भने सम्भवतः सजिलै देशले गरिबी निवारणमा फड्को मार्नसक्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro