site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई किशोरीको हत्या प्रकरणमा के खुल्यो नयाँ तथ्य ?

काठमाडौं । अछाममा मृत फेला परेका दुई किशोरीको घटना अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि अछाम पुगेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) सूर्य शाहीको नेतृत्वको टोली अछाम पुगेको हो ।

सीआईबीबाहेक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि अनुसन्धान टोलीसहित अछाम पुगेका छन् । तर, शव फेला परेको एक साता पुग्न लाग्दा समेत प्रहरीले घटनाको यकिन तथ्य फेला पार्न सकेको छैन ।

यद्यपि, मृत फेला परेका किशोरीको हत्या गरेको आंशकामा प्रहरीले दुई किशोरलाई नियन्त्रणमा लिएको छ । अरू तीनजनाको भूमिका समेत शंकास्पद देखिएपछि उनीहरूलाई निगरानीमा राखिएको छ ।

नियन्त्रणमा लिइएका दुई किशोर १५ र १७ वर्षका छन् । सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले सोधपुछका निम्ति उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

गएको शनिबार साँझ अछामको ढकारी गाउँपालिका–१ स्थित जंगलमा १५ वर्षीया ईश्वरी खड्का र १४ वर्षकी सरस्वती खड्काको शव फेला परेको थियो । नातामा फुपू–भदैनी उनीहरू दुवै कमलबजार नगरपालिकास्थित विद्यालयमा कक्षा–८ मा अध्ययनरत थिए ।

ढकारी गाउँपालिका–८ का बासिन्दा उनीहरू शुक्रबार बाख्रा चराउन जंगल गएका थिए । तर, घर फर्किएनन् । उनीहरू शनिबार समेत घर नफर्किएपछि आफन्त खोजीमा निस्किएका थिए । बाख्रा भने शुक्रबार नै आधा बाटोसम्म आफैँ फर्किएको र त्यसपछि छिमेकीले घरसम्म पुर्‍याइदिएका थिए ।

प्रहरीले घटना अनुसन्धानका निम्ति संघीय प्रहरी कार्यालय नेपालगन्जबाट तालिमप्राप्त कुकुर समेत प्रयोग गरेको थियो । शनिबार साँझ शव फेला परे पनि प्रहरीको टोली आइतबार मात्र घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुगेका डीआईजी चन्दले विभिन्न पाटोबाट अनुसन्धान थालिएको बताए । ‘‘हामीले केही शंकास्पद व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ । केही हदसम्म अनुसन्धानको दायरा साँघुरिएको छ,’’ उनी बाह्रखरीसित भने ।

प्रहरीले उनीहरूका शव पोस्टमार्टमका निम्ति आइतबारै बाँकेको कोहलपुर पठाएको थियो । पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको डीआईजी चन्दले जानकारी दिए ।

मृतकका टाउकोमा गम्भीर चोट
मृतक ईश्वरी र सरस्वती दुवैजनाको टाउकामा गम्भीर चोट लागेको प्रहरी अनुसन्धानका क्रममा देखिएको छ । उक्त चोटका कारण रगत समेत बगेको देखिएको छ ।

उनीहरूका शव फेला परेको ठाउँमा नभएर घटना अन्तै भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘उनीहरूको हत्या भएको निष्कर्ष हाम्रो छ । टाउकामा ढुंगा प्रहार गरी हत्या गरिएको देखिन्छ । तर, शव फेला परेको ठाउँबाहेक घटनास्थल भने अन्त कतै भएको आशंका हाम्रो छ ।’’

उनीहरूका शरीरमा समेत केही घाउ देखिएको छ ।

उनीहरूले पढेको विद्यालयमै कक्षा–१० मा अध्ययनरत एक किशोरसँग ईश्वरीको फोन सम्पर्क भएको खुलेको छ । उनीहरूले यसअघि समेत फोनमा कुराकानी गर्ने गरेको प्रहरीले जनाएको छ ।

ती किशोर शुक्रबार ईश्वरी र सरस्वतीले बाख्रा चराउन लिएर गएको जंगलनजिकै पुगेका थिए । किशोरीहरूको हत्या शुक्रबार दिउँसो ३ बजेभन्दा अघि नै भएको प्रहरीको अनुमान छ ।

उनीहरूले चराउन लगेका बाख्रा दिउँसो ३ बजेपछि आफैँ फर्किएर आफन्तको बारीमा पसेका थिए । बारीमा पसेर गहुँ खान थालेपछि छिमेकीले नै बाख्रा घर पठाइदिएका थिए ।

ईश्वरीका आफन्तले कक्षा–१० मा अध्ययनरत किशोरलाई फोन गरी उनीबारे चासो समेत राखेका थिए । तर, ती किशोरले ‘तपाईंको छोरी हामीसँग छैनन्, खोज्न जानू’ भनी जवाफ फर्काएको खुलेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, ईश्वरी र सरस्वतीको हत्यापूर्व अरू केही शंकास्पद प्रयास समेत भएको देखिएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेका कारण प्रहरीले यसबारे थप विवरण सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro