site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीन जोशी रिहा हुन लागेका हुन् ?

काठमाडौं । प्यालेस्टाइनको सशस्त्र समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशी रिहा हुन लागेको खबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले विपीन रिहा हुन लागेको भन्दै दुईवटा सूचना स्रोतलाई आधार मानेको देखिन्छ ।

पहिलो, विपीन जोशीको नाम लेखिएको एउटा स्क्रिनसट, जसलाई हमासको बन्धनबाट रिहा हुनेहरूको ५८औँ नम्बरमा विपीनको नाम रहेको दाबी गरिँदै छ ।

दोस्रो, इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले विपीन रिहा हुन लागेको समाचार लेखेको ।

५८औँ नम्बरमा विपीनको नाम लेखिएको स्क्रिनसट हमासको बन्धनबाट मुक्त हुनेहरूको सूची होइन । हमासको बन्धनमा परेकाहरूका परिवार र आफन्तजनहरूले ‘होस्टेज एन्ड मिसिङ फ्यामिली फोरम’ नामको एउटा संस्था खोलेका छन् । उक्त संस्थाले ‘स्टोरिज डट ब्रिङ देम होम नाऊ डट नेट’ नामको वेबसाइट चलाउँछ ।

यस वेबसाइटमा हमासले बन्धक बनाएकाहरूको नाम, फोटो र उनीहरूका परिवारको भनाइ राख्ने गरिन्छ । रिहा हुनेहरूको ५८औँ नम्बरमा विपीन जोशीको नाम लेखिएको भन्दै सामाजिक सञ्जालमा हालिएको स्क्रिनसट यही वेबसाइटबाट लिइएको हो । यस वेबसाइटले हमासको बन्धनमा रहेकाहरूको सूची निकालेको छ । सूचीको ५८औँ नम्बरमा विपीन जोशीको नाम लेखिएको छ ।

अर्कोतर्फ, इजरायली समाचार संस्था टाइम्स अफ इजरायलले विपीन रिहा हुँदै भनेर समाचार लेखेको छैन । स्थानीय समयअनुसार २९ जनवरी साँझ ९:१८ बजे टाइम्स अफ इजरायलले पाँच थाई नागरिकसहित तीन इजरायली रिहा हुँदै भनेर समाचार लेखेको छ ।

उक्त समाचारमा तीन इजरायली र पाँच थाई नागरिक रिहा हुन लागेको लेखिएको छ । रिहा हुने पाँच थाई नागरिकको नाम भने सार्वजनिक नभएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ, "गाजामा एक नेपाली र एक तान्जानियनसहित आठ थाई बन्धकहरू अझै छन ।"

टाइम्स अफ इजरायलको समाचारमा कतै पनि विपीन रिहा हुन लागेको लेखिएको छैन ।

के छ इजरायल र हमासको सम्झौतामा ?

१९ जनवरी २०२५ मा हमास र इजरायलबीच युद्धविराम गर्ने सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इजरायल र हमासबीचको युद्धविराम तीन चरणमा लागु हुनेछ । युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ ।

पहिलो चरण (४२ दिन)

– हमासले ३३ बन्धक रिहा गर्नेछ  । रिहा हुनेमा महिला, महिला सैनिक, ५० वर्ष माथिका बन्धक हुनेछन् ।

– हमासले रिहा गरेका एक बन्धकको बदलामा इजरायलले ३० जना प्यालेस्टिनी रिहा गर्नेछ । हमासले रिहा गर्ने एक महिला सैनिकको बदलामा ५० जना प्यालेस्टिनी रिहा गर्नेछ ।

– युद्ध रोकिनेछ । इजरायली सैनिक गाजा क्षेत्रका बस्तीबाट पछाडि सरेर गाजाको किनारामा पुग्नेछ ।

– विस्थापित भएका प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन् । गाजा क्षेत्रमा थप सहायता सामग्री जान दिइनेछ ।

दोस्रो चरण (४२ दिन)

– दिगो शान्तिको घोषणा गरिनेछ ।

– हमासले बाँकी रहेका पुरुष बन्धक (सैनिक र नागरिक) रिहा गर्नेछ । यसको बदलामा इजरायलले कति मान्छे रिहा गर्ने भनेर तय भइसकेको छैन । गाजा क्षेत्रबाट इजरायली सैनिक पूर्णरूपमा बाहिरिनेछ ।

तेस्रो चरण

– हमासको नियन्त्रणमा रहेका बन्धकको शव र इजरायली कब्जामा रहेको प्यालेस्टिनीको शव फिर्ता गरिनेछ ।

– गाजा पुनःनिर्माण योजना कार्यान्वयन गरिनेछ ।

– गाजा क्षेत्रमा भित्रिन र बाहिरिन बोर्डर क्रसिङ खुला गरिनेछ ।

यो सम्झौताअनुसार, विपीन दोस्रो चरणको युद्धविरामका दौरान रिहा हुने सम्भावना छ । ७ अक्टोबर २०२३ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो । १९ जनवरीमा युद्धविराम सुरु भएयता हमासले १३ जना बन्धक रिहा गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro