site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
धमाधम कर्मचारी कटौती गर्दै ट्रम्प, एक साताभित्र जागिर छाडे ८ महिनाको तलब पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्न थालेका छन् । ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्न एक हप्ताको समय दिएको छ ।

लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ सम्म (एक साता) को समय दिएर जागिर छाड्ने कर्मचारीलाई आठ महिनाको अतिरिक्त तलब दिइने भनिएको छ । अर्थात्, उनीहरूले अबको एक साताभित्र स्वेच्छाले जागिर छाडे आगामी सेप्टेम्बर ३० सम्मको तलब सुविधा पाउनेछन् ।

सरकारी तथ्यांक अनुसार, संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । प्यू रिसर्चका अनुसार, संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हुन्छ ।

समाचार एजेन्सी एपीका अनुसार, भेटेरेन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण प्रशोधनका काम गर्ने अधिकारी र सेनाका लागि हतियार खरिद गर्ने ठेकेदारहरू निकालिन सक्नेछन् । खाद्यान्न र पानी आपूर्तिको अनुसन्धान गर्ने वैज्ञानिकहरूले पनि जागिर गुमाउन सक्नेछन् ।

इमेलमा घरबाट काम गर्ने कर्मचारीहरूलाई कार्यालय फर्कन भनिएको छ । यी कर्मचारीहरूले हप्ताको पाँच दिन कार्यालयबाट काम गर्नुपर्नेछ ।

ट्रम्पले गत हप्ता संघीय कर्मचारीहरूलाई कार्यालय गएर काम नगरे जागिर गुम्ने चेतावनी दिएका थिए ।

अमेरिकी सरकारी कर्मचारी संघका अध्यक्ष एभरेट केलीले ट्रम्पको आदेशप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । ट्रम्प प्रशासनप्रति बफादार नभएका कर्मचारीहरूलाई जागिर छोड्न दबाब दिन थालिएको उनको भनाइ छ ।

केलीले संघीय कर्मचारीहरूलाई बर्खास्त गर्दा गम्भीर परिणामको चेतावनी दिएकी छन् । ट्रम्प प्रशासनले श्रम विरोधी आदेश र नीतिहरू जारी गरेको उनको आरोप छ ।

सीएनएनबाट ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro