site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई भेटेर महासंघले भन्याे : हर्क साम्पाङसहितलाई कारबाही गर

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । महासंघले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटी यस्तो माग गरेको हो । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले एक मागपत्र बुझाएको छ । 

पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्नेविरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमै प्रश्न उठिरहेको महासंघको ठहर छ । 

‘अतः महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन महासंघ माननीय गृहमन्त्रीसमक्ष अनुरोध गर्दछ,’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा माग गरिएको छ ।

सो प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ । 

यस्तै, नगरप्रमुख साम्पाङले नगरप्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिए पनि धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेको भन्दै यसले स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको पत्रमा उल्लेख छ । यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने मिसनको प्रतिवेदनले औँल्याएको महासंघले स्मरण गराएको छ ।

महासंघको पत्रमा योसँगै प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

पत्र बुझेसँगै गृहमन्त्री लेखकले महासंघको मागप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता हननमा संलग्नलाई राज्यले कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro