site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माध्यमिक तहको पाठ्यक्रममा हुँदैछन् यस्ता परिमार्जन, अब विद्यार्थीले भाषा रोज्न पाउने 

काठमाडौं । पाठ्यक्रम विकास केन्द्र माध्यमिक शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जनमा जुटेको छ । शैक्षिक सत्र २०८२ बाट लागु हुनेगरी तीनवटा विषयको पाठ्यक्रम परिमार्जन गरिँदै छ । 

माध्यमिक शिक्षाअन्तर्गत कक्षा १० देखि १२ सम्म भाषा समूह थप्ने पनि केन्द्रको निर्णय छ । परिमार्जित पाठ्यक्रमलाई छिट्टै अन्तिम रूप दिने तयारी गरिएको छ । 

के कस्ता विषय परिमार्जन हुँदैछ पाठ्यक्रममा ? 
केन्द्रले आगामी शैक्षिक सत्रका निम्ति कक्षा ९ र १० को गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम परिमार्जन गरेको हो । यस्तै, कक्षा १०, ११ र १२ मा भाषा समूह थप्ने पनि केन्द्रको निर्णय छ । 

कक्षा १०, ११ र १२ मा नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाएर पाठ्यक्रम परिमार्जन गरिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् । 

“अरु विषय र भाषा एउटै समूहमा हुँदा विद्यार्थीहरूले आफ्नो रोजाइको भाषा पढ्नबाट बन्चित हुनुपरेको समस्यालाई सम्बोधन गर्न पाठ्यक्रम परिमार्जन गरिएको हो,” शिक्षामन्त्री भट्टराईले भनेकी छन् । 

हाल कक्षा ९ र १० मा बाहुल्यताका आधारमा स्थानीय भाषा पढाइँदै आएको छ । कक्षा ११ र १२ को पाठ्यक्रममा ऐच्छिक तेस्रोअन्तर्गत नेपाली, अंग्रेजी, नेवारी, हिन्दी, मैथिली, चिनियाँ, जर्मन जापानिज, कोरियन, उर्दू, भोजपुरी, फ्रेन्च, हिब्रू, अरेबिक र संस्कृत गरी १५ भाषा समावेश गरिएको छ । 

तर, रसायन विज्ञान, योग वाद्यवादन, फेसन डिजाइनिङ, पशुपालन लगायतका १५ विषय पनि ऐच्छिक तेस्रो समूहमा नै राखिएकाले विद्यार्थी आफूले चाहेको भाषा छनोट गर्नबाट बञ्चित भएका थिए । 

अब भने नेपालमा बोलिने भाषाहरूलाई छुट्टै समूहमा राखी विद्यार्थीलाई छनोटको दायरा बढाइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कुनकुन वा कति विषय राख्ने, तिनको ‘क्रेडिट आवर’ कति हुने लगायतको टुंगो लगाउन विज्ञहरूको कार्यदलले काम गरिरहेको केन्द्रका निर्देशक वासुदेव वस्तीले बताए । 

“सरोकारवालाहरूको मागलाई ध्यानमा राखेर समूह थप गरिएको हो, पमिार्जित पाठ्यक्रमलाई छिट्टै टुंग्याइ आगामी शैक्षिक सत्रदेखि लागु गर्नेगरी कार्यदलले गृहकार्य गरिरहेको छ,” वस्तीले बाह्रखरीसित भने । 

यस्तै, केन्द्रले विद्यार्थीको घरायसी र सामाजिक कामको अंक पनि मूल्यांकन हुनेगरी पाठ्यक्रम तयार पारेको छ । जसअनुसार विद्यार्थीको प्रयोगात्मक अंकमा अब घर परिवार र सामाजिक कामवापत मूल्यांकन पनि जोडिने भएको छ । 

केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागु हुनेगरी सामाजिक विषयमा सो पक्षलाई पनि समेटेर अंक दिनेगरी पाठ्यक्रम परिमार्जन गरेको हो । 

निर्देशक वस्तीका अनुसार हाल कक्षा ९ र १० को पाठ्यक्रममा यो बुँदा समावेश गरिनेछ । नयाँ पाठ्यक्रममा सामाजिक कार्यलाई अंक दिने प्रस्तावमा शिक्षा मन्त्रालयसहित सरोकारवाला सबैको सहमति जुटिसकेको छ । 

सामाजिक कार्यवापतको प्रयोगात्मक अंक कक्षागत रूपमा फरक–फरक हुनेछ । “सामाजिक विषयमा यसरी मूल्यांकन अंक दिने व्यवस्थाले यसले श्रमलाई शिक्षासँग जोड्न मद्दत गर्ने विश्वास छ,” वस्तलीले भने । 

उनका अनुसार विद्यार्थीले घरायसी कामकाज, पेसागत काम तथा सामाजिक कार्यमा देखाउने सक्रियतालाई मूल्यांकनको आधार बनाइनेछ । साथै, घरायासी काममा परिवारसँगको अन्तर्क्रिया, सल्लाह, सुझाव, सामाजिक सचेतनामा योगदान लगायतका कार्य पनि मूल्यांकनको आधार मानिनेछ । 

“काम गर्ने भावनाको विकास गर्न, श्रमको सम्मान गर्ने र सैद्धान्तिक तथा व्यवहारिक सिकाइलाई सँगसँगै अगाडि बढाउन नयाँ यो मूल्यांकन पद्धतिले सहयोग पुग्ला भन्ने उद्देश्य हो,” वस्तीले थप प्रष्ट पारे । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro