site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
फाइल तस्बिर ।

त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि भएको हो । 

यस वर्ष यहाँबाट करिब ६ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले ५ करोड ९२ लाख आम्दानी गरेका छन् । दशवटा वडा रहेको त्रिवेणीमा एक हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् । 

प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए । पालिकाभर हाल १९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए । 

कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार ६०० क्विन्टल अर्थात् १५.६ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रू तीन हजार ८०० भन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका छन् ।  

गत आर्थिक वर्षमा पालिकामा दुई हजार ६०० परिवारले अदुवाखेती गर्दै आएकामा यस वर्ष उक्त संख्या ६५० ले घटेको प्रमुख पुनले बताए । 

व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट रू एक लाख आम्दानी गरेको बताए । बीस वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दा मौसममा दुई लाखसम्म आम्दानी हुने जानकारी दिए ।  

त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिए ।  

“पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ”, उनले भने । रासस

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro