site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङमा वर्षको पहिलो हिमपात
हुम्लामा हिमपातको दृश्य । फाइल तस्बिर ।

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् ।

चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने गरेको थियो । यो वर्ष पुसको अन्तिम साता मात्र हिउँ परेको हो ।

कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडा अहिले हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१, पिसाङका किसान मुखिया गुरुङले सुनाए । ढिला गरी हिउँ पर्दा खुसी लागेको उनले बताए । उनले भने, “भारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ ।”

आफूले गरेको कृषिजन्य उत्पादनले दुई महिना मात्र खान पुग्ने उनले उल्लेख गरे । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ छ ।

किसानका अनुसार, हिउँ परेपछि यार्सागुम्बा, नीरमसी, पाँचऔँले, चिराइतोलगायत बहुमूल्य जडीबुटीको उत्पादन बढ्छ । तल्लो भागमा परेको हिउँले खेतीपातीका निम्ति मलका रूपमा काम गर्छ । दुई हप्ताअघि मात्र सिँचाइ गरेका चामेका किसान शेराप विष्टले हिमपातले खुसियाली ल्याएको बताए ।

नासो गाउँपालिका–८,  ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए । उनले भने, “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्न आउने ? प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो ।” उनका अनुसार, हिउँ पर्दा पर्यटक बढ्छन् । हिमाली सौन्दर्य रहिरहन्छ ।

जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन् । अन्नपूर्ण, गंगापूर्ण, लमजुङलगायत हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए पनि तल्लो भूभागमा अझै हिउँ पर्ने संकेत नदेखिएको नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताए । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनले सुनाए । रासस

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro