site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसममा आजैदेखि बदली, भोलि सातै प्रदेशका केही स्थानमा वर्षा हुने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा शनिबार राति (आज) र आइतबार (भोलि) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा उक्त प्रणालीको प्रभावमा सुरु भइसकेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को अवस्था रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

शनिबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् । “पहाडी भूभागमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ,” उनले बाह्रखरीसित भनिन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबारको तुलनामा आइतबार बढी देखिनेछ । आइतबार सातै प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने उनले बताइन् । प्रभाव भने पश्चिम नेपालमा बढी हुने उनले स्पष्ट पारिन् ।

“मधेस प्रदेशका एक/दुई, कोसी प्रदेशका पनि एक/दुई र वाग्मती प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ,” उनले भनिन्, “गण्डकीदेखि पश्चिमका केही स्थानमा वर्षाको सम्भावना अन्तभन्दा बढी छ ।”

लुम्बिनीबाहेक पश्चिम नेपालका अरू हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको हिमाली भूभागका केही स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको उनले जानकारी दिइन् ।

आइतबार काठमाडौंमा भने वर्षाको सम्भावना कम छ । भइहाले पनि साँझतिर छिटपुट हुन सक्ने उनको भनाइ छ । “काठमाडौंमा वर्षाको सम्भावना कमै छ,” उनले भनिन्, “भइहाले पनि साँझतिर क्षणिक छिट्ट्याउनेदेखि हल्कासम्म हुनसक्छ । एक/दुई ठाउँमा खण्डित खालको हुनसक्छ ।” काठमाडौंमा हिमपातको सम्भावना छैन ।

उनका अनुसार, उक्त वर्षा र हिमपात कतै पनि धेरै हुने खालको सम्भावना छैन । आइतबार रातिदेखि क्रमिक रूपमा मौसम खुल्दै जाने उनले जानकारी दिइन् ।

“पर्सि (सोमबार) बिहान हिमाली र पहाडी भूभागका एक/एक दुई स्थानमा बदलीको सम्भावना छ,” उनले भनिन्, “दिउँसोदेखि मुख्यतया सफा हुने देखिन्छ ।”

महाशाखाले वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउनु आग्रह गरेको छ ।

पश्चिमी वायु पश्चिमबाट पूर्वतर्फ बहन्छ । यसबाट पानी पार्ने ‘प्रणाली’ विकास हुनु नै पश्चिमी न्यूनचापीय प्रणाली हो । यसैले नेपालमा हिउँदे वर्षा गराउँछ । हिमपात र वर्षा गराउन यही प्रणालीको भूमिका हुन्छ । पश्चिमी न्यूचापीय प्रणाली भूमध्यसागरबाट विकसित हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र भारत भएर नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

m1-1736602292.jpgm2-1736602303.jpgm3-1736602316.jpg
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro