site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति, के छ मापदण्ड ?

महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ । 

प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको हो । 

यो छात्रवृत्तिमा मधेसका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले अवसर पाउने मधेस प्रदेशको शिक्षा निर्देशनालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका छोरी र जेहेन्दार छात्रालाई उच्च शिक्षामा सहुलियत दिन छोरी छात्रवृत्ति योजना बढाइएको बताएका छन् । 

मन्त्रिपरिषदबाट निर्णय भई अघि बढेको यससम्बन्धी प्रक्रिया अब प्रदेश शिक्षा निर्देशनालयले अघि बढाउने उनले स्पष्ट पारे । 

प्रदेशका आठवटै जिल्लाका चार समूहमा विभाजन गरिएका छात्राले छात्रवृत्ति पाउनेछन् । यी चार समूहमा दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रा पर्नेछन् । 

यो छात्रवृतिका लागि पर्याप्त आवेदन प्राप्त भएका र अब तिनको छनौट चरण सुरु भएको प्रदेश शिक्षा निर्देशनालयका निमित्त प्रमुख ठूलोबाबु दाहालले जानकारी दिए । 

निर्देशनालयले गत मंसिरमै यससम्बन्धी सूचना गरेर आवेदन आह्वान गरेको थियो । छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ ।

यो छात्रवृत्तिमा साधारण र प्राविधिक धारतर्फ गरी शैक्षिक शुल्कबापतको रु २५ हजार र रु ३५ हजार दिने व्यवस्था गरिएको छ । प्राविधिक धारतर्फ रु ३५ हजार र साधारण (मानविकी, वाणिज्य, शिक्षासहितका संकाय)का लागि रु २५ हजार वार्षिक  दिइनेछ । यो रकम छनोट भइसकेपछि सम्बद्ध छात्राकै बैंक खातामा जम्मा गरिने प्रमुख दाहालले बताए । 

मधेस प्रदेशमा जन्मिएर यस प्रदेशकै स्थायी ठेगाना भएका समूह विभाजनभित्रका छात्रा छात्रवृत्तिमा छानिने स्पष्ट मापदण्ड छ । यद्यपि, पठनपाठन भने मुलुकभित्रका कुनै पनि जिल्लाका सामुदायिक सार्वजनिक शिक्षण संस्थामा गरेका हुनसक्ने व्यवस्था रहेको छ । 

प्रदेश सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro