site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाठेघरको मुखको क्यान्सरविरुद्ध फड्को, १७ लाख किशोरीलाई एकैपटक खोप दिइँदै

काठमाडौं । सरकारले आगामी माघ २२ गतेदेखि करिब १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने भाइरसविरुद्धको खोप दिँदै छ । राष्ट्रव्यापी अभियान सञ्चालन गरेर ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार, १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई फागुन ६ गतेसम्म खोप दिइनेछ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभीविरुद्ध नेपालले अभियानकैरूपमा खोप सञ्चालन गर्न लाग्नुलाई महत्त्वका साथ हेरिएको छ ।

यसअघि, 'डेमोस्ट्रेसन'को रूपमा गत भदौमा १४ वर्ष पूरा भएर १५ ननाघेका १० हजार बालिकालाई एचपीभीविरुद्धको खोप दिइएको थियो ।

यसरी दिइनेछ खोप, मधेसमा सबैभन्दा धेरै

एचपीभी खोप अभियानअन्तर्गत विद्यालयलाई मुख्य केन्द्र बनाएर खोप दिन लागिएको छ । यसबाहेक स्वास्थ्य संस्थाबाट पनि खोप दिइनेछ । विद्यालय जानेमा ६ देखि १० कक्षासम्मका छात्रा र नजानेमा १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लक्षित छ ।

खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, महानगर र उपमहानगर क्षेत्रका लागि १० दिन र अन्य पालिकामा जनसंख्या हेरेर खोप कार्यक्रम सञ्चालन हुनेछ ।

हाल तोकिएको उमेर समूहअनुसार, खोप लिनेमा सबैभन्दा धेरै मधेस प्रदेशका चार लाख सातहजार २९१ किशोरी छन् । यस्तै, कोसीमा दुई लाख ५९ हजार ८८१, वाग्मतीमा दुई लाख ७३ हजार १२१, गण्डकीमा एक लाख १८ हजार ७७४, लुम्बीनीमा दुई लाख ९९ हजार ४७१, कर्णालीमा एक लाख २८ हजार २९६ र सुदूरपश्चिममा दुई लाख एक हजार ९३४ किशोरी छन् ।

कस्तो हो अहिले दिन लागिएको खोप ?

पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ र १८ प्रमुख कारक भएको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारण यिनै दुई प्रजाति भएको पाइएको छ ।

अहिले दिन लागिएको सिकोलिन खोप यी दुई प्रजातिविरुद्ध तयार भएको हो । एक डोजमात्र दिइने यस खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

आगामी आर्थिक वर्षदेखि भने नियमित खोप तालिकामा नै राखेर एचपीभीविरुद्धको खोप दिइने डा. गौतमले बताए । 

सरकारको फड्को !

नेपालले तेस्रो पटकको पहलमा यो खोप अभियानको रूपमा सञ्चालन गर्न लागेको हो । यसअघि, परीक्षण र डेमोस्ट्रेसनको रूपमा सीमित मात्रा दिए पनि राष्ट्रव्यापी अभियानमा लैजानसक्नु खोप क्षेत्रमा ठूलो फड्को भएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल बताउँछन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार पाठेघरको मुखको नयाँ बिरामी देखिने दर १६.४ प्रतिशत प्रतिलाख छ । यसबाट मृत्यु हुनेको दर ११.१ प्रतिशत छ ।

सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा रहन नदिने (निवारण गर्ने) विश्व स्वास्थ्य संगठनको लक्ष्य छ । सो लक्ष्य भेट्न पनि खोप अभियान महत्त्वपूर्ण बन्ने डा. लालको भनाइ छ ।

ग्लोबल अलायन्स फर भ्याक्सिन (गाभी) सँगको सहवित्तीयकरणमा नेपालले हाल १७ लाख डोज खोप भित्र्याएको हो । हाल दिन लागेको खोपमा सरकारको प्रतिडोज करिब ४०० रुपैयाँ लगानी रहेको डा. लाल बताउँछन् ।

अन्य कति देशमा दिइन्छ यो खोप ?

डब्लूएचओका अनुसार, एचपीभीविरुद्धको खोप हाल विश्वका १४४ देशमा नियमित खोपको रूपमा दिइँदै आएको छ । त्यसमध्ये नेपालमा दिइनेजस्तै एक डोजवाला खोप ६१ देशले दिइरहेका छन् । ७७ देशमा विद्यालयबाट नै दिइएको खोप कार्यक्रम प्रभावकारी भइरहेको डब्लूएचओको रिपोर्ट छ ।

०.५ एमएलका दरले दिइने यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेकाले अभियानमा अनिवार्यरूपमा सहभागी हुन खोप शाखाको आग्रह छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro