site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
'सँगैका साथीको बिदाइमा छटपटी हुँदोरहेछ, न्यायाधीश नै अन्यायमा पर्ने अवस्था नआओस्' 

काठमाडौं । ‘ओ हरिहरजी, हाम्रा समकालीनहरू एक–एक गर्दै सकिन थाले, म त झसंग भएँ’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले हृदयघातका कारण निधन भएका पूर्वन्यायाधीश प्रकाश वस्तीको अन्तिम संस्कारका बेला वरिष्ठ अधिवक्ता हरिहर दाहालसँग भनेका वाक्य थिए यी ।

दाहालले पनि फ्याट्ट जवाफ दिए– हिसाब–किताब नगरौं ! हाम्रो टिकट कुन दिन काटिएको छ थाहा हुँदैन !’

वस्तीको हृदयघातका कारण शुक्रबार राति निधन भएको थियो । एकै समय लाइसेन्स लिएका दाहाल वस्तीसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् । दाहालको सम्बन्ध पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँग पनि उस्तै छ । 

७१ वर्षको उमेरमा वस्तीको निधन भएको थियो । मृत्यु हुनु अघिसम्म अध्ययन र अनुसन्धानमा सक्रिय वस्ती जे काममा लाग्यो, त्यसमै स्थापित हुने स्वभावका थिए ।  अध्ययनशील, बौद्धिक र मेहनति पनि । त्यहीकारण न्यायिक क्षेत्रका सहकर्मीमाझ वस्तीको विशेष पहिचान थियो ।

काठमाडौंको नयाँबजारस्थित घरमै शुक्रबार राति हृदयघात भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरियो । डाक्टरले बचाउने हर प्रयास गर्दा पनि सफल भएनन् । शनिबार बिहानै वस्तीको निधनको खबर फैलियो । छोरा अमेरिका भएका कारण आइतबार मात्र अन्तिम संस्कारसहितको अन्तेष्टि भयो । 

आर्यघाट पुगेका सहकर्मीहरू पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र वरिष्ठ अधिवक्ता दाहालले वस्तीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र भरतराज उप्रेतीलाई स्मरण गरेको दाहालले बाह्रखरीसँगको कुराकानीमा बताए ।

वस्तीसँगका ती दिन– दाहालकै शब्दमा 

हामीले ०३२ साल चैतमा लाइसेन्स लिएका हौं । मैले चैत २ गते लिएँ । उहाँले कति गते लिनुभयो, ठ्याक्कै थाहा भएन । मलाई लाग्छ त्यही महिनाको १२–१३ गते हुनुपर्छ । मेरो नम्बर ४८२ हो उहाँको ४९३ हो कि जस्तो लाग्छ ।

लाइसेन्स लिएपछि केही महिनामै हामी दुवैजना गुरुदेव कृष्णप्रसाद भण्डारीको ल फर्ममा काम गर्‍यौँ । हामी दुवैले पाँचवर्ष सँगै काम गर्‍यौँ । 

त्यसपछि उहाँले पनि आफ्नो छुट्टै अफिस खोल्नुभयो, मैले पछि छुट्टै अफिस खोलेँ । सुवासजी (सुवास नेम्वाङ) र भरतराजजी (भरतराज उप्रेती)ले पनि खोल्नुभयो । हामी सबै एकै समय कानुनी जीवन सुरु भएको हो । 
नेपाल बार एशोसिएसनको राजनीतिमा मभन्दा पछिको महासचिव हुनुहुन्थ्यो वस्तीजी । म ०४५ सालमा महासचिव भएको हुँ । 

०४८ सालमा उहाँ बारको महासचिव बन्नुभएको हो । ०४२ सालमा सुवासजी महासचिव हुनुभयो । पछि म ०५४ सालमा मात्र अध्यक्ष बन्न पुगेँ । प्रकाशजी महासचिवबाट बाहिरिएपछि बारको राजनीतिमा रहनुभएन । सुवासजी अध्यक्ष हुनुहुन्थ्यो होला, उहाँ पूर्णकालीन राजनीतिमा लाग्नुभयो । 

०३८ सालमा अफिस सँगसँगै खोलेका थियौँ । पछि डिल्लीबजारमा जग्गा सँगसँगै किन्यौँ, एकै ठाउँमा । मेरो भन्दा पश्चिमपट्टिको घर उहाँको, मेरो पूर्वपट्टिको हो । 

उहाँले त्यहाँ ल फर्म मात्र चलाउनुभयो । मैले त्यही घर र ल फर्म ठाउँमा चलाएँ । म अझै पनि त्यही चलाइरहेको छु । उहाँ न्यायाधीश बन्न जानुभयो । मैले भनेँ, “तपाईंहरू न्यायाधीश बन्नुस् साथीहरू म चाहिँ ल फर्म नै चलाउँछु ।” 

उहाँ न्यायाधीश बनेपछि पनि राम्रो न्यायाधीशको पहिचान बनाउन सफल हुनुभयो । उहाँ राम्रा सिद्धान्त बनाउने न्यायाधीश बन्नुभयो । 

उहाँ कानुन व्यवसायी पनि साह्रै मेहनति मान्छे हुनुहुन्थ्यो । म त सँगै काम गरेको भएँ । वास्तवमा म त्यति जाँगरिलो छैन । उहाँ हामीभन्दा मेहनति हुनुहुन्थ्यो । म उहाँको स्वभावलाई ‘एप्रिसियट’ गर्छु । कुनै कुरा गर्ने भनेपछि एकोहोरो लाग्ने र सकेर मात्र छाड्ने उहाँको स्वभाव हो । 

हामीलाई अलिकति राजनीतिक चस्का लाग्यो । उहाँमा त्यस्तो थिएन । सुवासजी, हामी राजनीति पनि गर्थ्यौँ । उहाँको चाहिँ बारको राजनीतिमा र गतिविधिहरूमा मात्र सक्रिय सहभागिता रहने तर, राजनीतिक सक्रियता हुँदैनथ्यो । 
सुवासजी र म ल फर्ममा सँगै थियौँ । तर, सुवासजी एउटा समूहलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो, म अर्को समूहको । सँगै भएपनि आ–आफ्नो पारा छाड्दैनथ्यौँ, हामी । 

हामी पढ्ने समयका म सहपाठी चाहिँ होइनौं । मैले पढाइ प्राइभेट गरेँ, उहाँ रेगुलर पास गरेको व्यक्ति हो । मलाई त कति च्यालेन्ज थियो भने उहाँहरू रेगुलर पढेर पास गरेर आउनुभएको म चाहिँ प्राइभेट पढेको । 

मैले पनि मेहनत गरे हुँला, नत्र त कसरी च्यालेन्ज गर्न सक्थेँ होला र ! आफ्नो ढंगले मैले पनि मेहनत त गरेँ । तर, मेहनतका हिसाबले प्रकाशजी हामीभन्दा माथि हो । 

पछि उहाँलाई स्थायी न्यायाधीश बन्न दिएनन् । उहाँमाथि अनेक षडयन्त्र भयो । के–के षडयन्त्र भयो भनी मलाई बोल्न नलगाउनुस् । तर उहाँ षडयन्त्रकै शिकार बनेको यथार्थ हो । 

न्यायाधीशबाट हटेपछि उहाँ अनुसन्धानमा लाग्नुभएको थियो । खासगरी नेपालको न्यायिक इतिहासको र कानुनी इतिहासबारेमा उहाँले धेरै अध्ययन अनुसन्धान गर्नुभयो । एउटा किताब त निकाली सक्नुभयो, भाग–१ । उहाँ भाग–२ को तयारीमै हुनुहुन्थ्यो । कतिसम्म पुग्या छ मैले पनि बीचमा कुरा गर्न पाएको थिइन । म पनि पेशामा लागिरहेको हुनाले आफ्नै दुनियाँमा हुने नै भए । 

अनुसन्धान क्रममा कहिले पुरातत्व विभागमा गएँ, कहिले कहाँ गएँ भन्दै मकहाँ आउनुहुन्थ्यो । सुरुमा दुःख–सुख गरेर अफिस–घर एकै ठाउँ गरेको थिएँ । तर बसोबास चाहिँ आठ १० वर्षदेखि छुट्टै ठाउँमा गरिरहेको छु । तर, हामीले जग्गा सँगै लिएर सँगसँगै घर बनाएका थियौं, ०४२ सालमा । 

कानुन व्यवसायीका रूपमा उहाँ राम्रो पहिचान बनाउनुभयो । अनुसन्धानका क्रममा पनि राम्रै पहिचान बनाउँदै हुनुहुन्थ्यो । मानवअधिकार आयोगमा रहँदा पनि राम्रै काम गर्नुभयो भन्ने छ ।
नेपालमा यत्तिको मेहनति मान्छे सितिमिति पाइँदैन । 

प्राज्ञिक, विद्वता भएको र अध्यययनशील पनि हुनुहुुन्थ्यो, उहाँ । 

कल्याणजी (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ) र उहाँहरू सँगै पढ्नुभएको हो । कल्याणजी एक व्याच अगाडि । तर, त्यतिबेला विद्यार्थी थोरै हुँदा कतिपय मिल्ने विषय सरहरूले एकै ठाउँ पढाउँथे । त्यसकारण एकखालको सहपाठी जस्तै सम्बन्ध । 

सुवासजीको असामयिक निधन भयो । भरतराज उप्रेती आफैँ मृत्युवरण गरेर जानुभयो । हिजो प्रकाशजीको पनि निधन भयो । यसले पिडा त हुँदो रहेछ । 

प्रकाशजी गएको खबरपछि यसो हेरेँ ! म त घर बनाउँदा खास खटिनँ । मैले मिस्त्रीहरूको भरमा छोड्दिए । तर प्रकाशजी यसरी खट्नुभयो कि उहाँले एक एक ईंटा गन्नुभयो होला । घर बनाउँदा एक–एक मान्छेलाई अह्राउन भ्याउनु हुन्थ्यो ।

जे काममा लाग्यो प्रकाशजीले मेहनत नै गर्ने । त्यो बेलाको समय सम्झिएँ । आजभन्दा भन्डै ४० वर्ष पहिला ‘थुकतेल’ गरेर जग्गा किनेका थियौँ । त्यस्तो साथी बित्दा निकै छटपटी हुँदो रहेछ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro