site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, कष्टकर बन्यो जनजीवन
फाइल तस्बिर ।

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रोपटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दुरीको हवाई सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । 

आज बिहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताए ।

नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए । मंगलबार जिल्लाको मौसम खराब हुँदा जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ । 

यस्तै, सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारीसाधनसमेत अवरुद्ध भएका छन् । हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सालगायत गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारीसाधनसमेत आवतजावतमा रोकिएका छन् । यस्तै, जिल्लाका दक्षिण भेगमासमेत सवारीसाधनले आवतजावत गर्न नसकेको बताइएको छ । 

सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि फेरबदल हुँदा जिल्लामा हिमपात सुरु भएको हो । सोमबार राति ३ः३० बजेदेखि हिमाली जिल्ला हुम्लाको सिमकोट आसपाससहित उत्तरी भेगमा हिमपात भएको हो । सदरमुकाम सिमकोटमा आज बिहानसम्म दुई इञ्चसम्म हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ । 

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ । हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ । चिसोले यहाँका नागरिकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ । साथै सदरमुकाम सिमकोटमा दैनिक सेवाग्राहीको भिडभाड हुने कार्यालय आज सुनसान छ ।

नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ । उत्तरी भेगको तापक्रम माइनस १० डिग्री पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने हावाहुरीका साथै वर्षा भएको छ । 

जिल्लामा दोस्रोपटक हिमपात हुँदा बालबालिका, वृद्धवृद्धा बालबालिकालगायत सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आग्रह गरे । हिमपहिरो खस्ने आसपासका बस्तीमा सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । रासस 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro