site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

संसद्मा विचाराधीन भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयकमा दफावार छलफल गरी प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको उपसमितिले सोमबार पारित गरेको प्रतिवेदनअनुसार कानुन बनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र विस्तार हुनेछ   । अब मन्त्रिपरिषद्को सबै निर्णय ‘नीतिगत’ नहुने प्रावधान प्रस्तावित संशोधनमा गरिएको छ । 

प्रस्तावित संशोधनमा ‘नीतिगत’ निर्णयलाई परिभाषित गर्दै ‘सबैमाथि समानरूपमा लागु नहुने व्यक्ति वा संस्था विशेषलाई मात्र लाभ हुने निर्णयलाई नीतिगत नमानिने व्यवस्था गरिएको छ । यसैगरी प्रचलित कानुनबमोजिम सम्बन्धित अधिकारीले गर्न सक्ने वा गर्नुपर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट गराइएमा नीतिगत मानिनेछैन । अर्थात्, त्यस्ता निर्णयमा अख्तियारले अनुसन्धान र कारबाही सिफारिस गर्नसक्नेछ ।

मन्त्रिपरिषद्को निर्णयलाई ‘नीतिगत’ मानेर अख्तियारको कार्यक्षेत्रबाहिर राख्ने प्रावधानका कारण भ्रष्टाचारका ठूला घटनामा कारबाही गर्न नसकेको भन्ने जिकिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरूमा उल्लेख गरिएका छन् । यसैले अब नीतिगत निर्णयको परिभाषा स्पष्ट भएपछि माथिल्लो तहमा हुने भ्रष्टाचार नियन्त्रण हुने अपेक्षा गरिएको देखिन्छ ।

अख्तियारको इतिहास हेर्ने हो भने कानुनले यस संस्थालाई दिएको शक्तिको दुरुपयोग नै बढी भएको देखिनेछ । अख्तियारको अहिलेको संरचना र दलगत भागबन्डाको अभ्यासले गर्दा आयोगका निर्णयहरू बढी नै आग्रह वा पूर्वाग्रह प्रेरित रहिआएका छन् । 

उच्चतहमा हुने भ्रष्टाचार निवारणका लागि भन्दै पञ्चायती संविधानमा २०३२ सालमा ‘अख्तियार दुरुपयोग निवारण आयोग’को व्यवस्था गरिएको थियो । त्यसपछिका संविधानहरूमा पनि अख्तियार संवैधानिक आयोगका हैसियतमा रहिरहेको छ । जनआन्दोलनपछि ‘निवारण’को ठाउँमा ‘अनुसन्धान’ राखेर यसलाई निरन्तरता दिइयो ।

राजनीतिक प्रतिशोधका लागि आयोग दुरुपयोग पञ्चायतकालमै सुरु भएको थियो भने पछिल्ला दिनमा पनि त्यो निरन्तर रहेको देखिएको छ । अन्तरिम कालमा त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले समानान्तर सरकार चलाएर राज्य संयन्त्रलाई नै आतङ्कित पारेको थिए । यसैले अहिले कार्य क्षेत्र विस्तार गरिएपछि झन् बढी बबन्डर मच्चिन सक्छ ।

सैद्धान्तिकरूपमा पनि लोकतन्त्रमा राजनीतिक नेतृत्वले गरेको भ्रष्टाचारमा राजनीतिक प्रक्रिया नै अपनाउनु न्यायोचित हुन्छ । जनताले नै आफ्ना प्रतिनिधिलाई कारबाही गर्ने मौका र अधिकार पाउनुपर्छ । सम्भवतः यही मनसायले सर्वोच्च अदालतले ‘मन्त्रिपरिषद्को नीतिको औचित्य र उपयुक्तता’ राजनीतिक दलहरूको आलोचना वा टिकाटिप्पणीको विषय भएको र अख्तियारजस्तो निकायद्वारा त्यसको जाँचबुझ गराउने विकल्प नरहेको’ निष्कर्ष निकालेको हो ।

बेनामी उजुरीमा व्यापक कार्यक्षेत्रमा कारबाही गर्न सक्ने अधिकार दिइएपछि अख्तियारका अधिकारीहरू बढी नै स्वेच्छाचारी हुन पनि सक्छन् । यस्तो असीमित अधिकारवाला संस्थामा ‘ऋषि मन’ का पदाधिकारी नियुक्त भएमात्र अख्तियारको दुरुपयोग नहुने हो । संवैधानिक परिषद्को अभ्यास हेर्दा ऋषि मनका व्यक्ति होइन बदनियत भएका ‘छट्टु’हरू नै आयोगमा नियुक्त हुने परम्परा दोहोरिने जोखिम धेरै हुन्छ ।

विगतमा अख्तियारकै आयुक्तहरूले भ्रष्टाचारको कसुरमा  सजाय पाएका थिए । अहिले पनि आयुक्तहरूमाथि ‘स्वार्थको द्वन्द्व’को आरोप लागेको छ । बहालवाला प्रमुख आयुक्तका हकमा वाइड बडी जहाज खरिदमा भएको भ्रचातारको मुद्दामा अदालतले नै ‘ न्यायिक टिप्पणी’का रूपमा कटाक्ष नै गरेको छ । यसैले नियन्त्रण र सन्तुलनको व्यवस्थाविना दिइने अधिकार प्रत्युत्पादक पनि हुनसक्छ भन्ने सांसदहरूले हेक्का राखुन् १
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro