site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ
फाइल तस्बिर ।

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेका छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्यांक १३ लाख तीन हजार ४९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचनामा उल्लेख गरको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कुल १३ लाख तीन हजार ४९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्यांक चालु आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो ।  

तथ्यांकअनुसार सबैभन्दा बढी दर्शनार्थी आर्थिक वर्ष २०७९/८० मा आएका छन् । उक्त वर्ष दुई लाख ८३ हजार ९४५ दर्शनार्थीले पाथीभरामा पूजाआजा गरेका थिए । पछिल्ला केही वर्षमा दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३१ हजार ३३४ जना तथा आर्थिक वर्ष २०७७/७८ मा दुई लाख १७ हजार ९६१ दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको तथ्यांक छ ।

यस अवधिमा सबैभन्दा कम दर्शनार्थी आर्थिक वर्ष २०७५/७६ मा आएका छन् । उक्त वर्ष एक लाख एक हजार ६०५ दर्शनार्थीले मन्दिर दर्शन गरेका थियो । कोरोना महामारीका कारण केही वर्ष दर्शनार्थीको आगमनमा कमी देखिएको भए हाल स्थिति सामान्य हुँदै गएको छ ।  

चालु आव २०८१/८२ को कात्तिक महिना मात्रै ६१ हजार १७३ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको थियो । असोज महिनामा भने पाँच हजार ९४९ जनाले मात्र मन्दिरको दर्शन गरेको थियो । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ ।  

क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा यो यात्रा श्रद्धालुहरूका लागि विशेष अनुभव बनेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् । काफ्लेपाटीसम्मको मार्गलाई फाइबर छाना ओढाउने योजना अझै पूरा हुन बाँकी छ ।  

पाथीभरा मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र होइन, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको केन्द्र हो । प्रत्येक वर्ष लाखौँ श्रद्धालु यहाँ पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । सुविधा थप व्यवस्थित र प्रचारप्रसार व्यापक बनाउने हो भने पाथीभरा धार्मिक मात्र नभई विश्व पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro