सिरियाका राष्ट्रपति बसर अल असाद पदबाट राजीनामा गरेर रुसमा शरण लिन पुगेका छन् । यसबाट उनको २४ वर्ष लामो एकतन्त्रीय शासनको साथै बाथ पार्टीको प्रभुत्वको पनि अन्त्य भएको छ । विद्रोहीहरूले राजधानी दमस्कस कब्जा गरेसँगै उत्सब मनाइरहेका छन् ।
सिरियामा इस्लामी संगठन हयात तहरिर अलसामका विद्रोहीले राजधानी दमस्कस बाहिरका सहर कब्जा गरेपछि त्यहाँको १३ वर्ष लामो गृहयुद्धले निर्णायकरूप लिएको हो । सिरियाली गृहयुद्धमा इरान र रुसले बसरलाई सघाएका थिए भने केही विद्रोही समूहलाई अमेरिका र पश्चिमी युरोपका मुलुकहरूले साथ दिएका थिए ।
उनका पिता तत्कालीन राष्ट्रपति हाफिज अल असदको मृत्युपछि बसर सिरियाका राष्ट्रपति बनेका थिए । सिरियामा हफिजले १९७१ देखि एकछत्र शासन गरेका थिए । सन् १९६३ मा भएको सैनिक विद्रोहबाट त्यहाँ अरब सोसलिस्ट बाथ पार्टी ९सिरिया क्षेत्र०का नामबाट निरङ्कुश शासन चलाइँदै आएको थियो ।
हाफिजको मृत्युपछि सत्तामा पुगेका बसद युवा शासक भएकाले सिरियामा लोकतान्त्रिक परिवर्तन हुने अपेक्षा गर्नेहरू भने छिटै नै निराश भए । कतिपय अरब मुलुकहरूमा जस्तै सिरियामा पनि ‘बसन्त विद्रोह’ सुरु भयो । तर, बसर अल असदले विद्रोहीहरूसँग संवादको साटो दमनको बाटो रोजे ।
कुनै समयमा मध्यपूर्वको अपेक्षाकृत प्रगतिशील र धर्मनिरपेक्ष मानिने सिरियामा विद्रोह सुरु भएपछि बसरले रुस र इरानको सहयोगमा दमन चर्काएका थिए । गृहयुद्धका कारण करिब एक करोड सिरियाली विभिन्न मुलुकमा शरण लिएका छन् । देश छाड्न नसक्नेहरूको अवस्था पनि दयनीय हुन पुगेको छ ।
अहिले सिरियामा पश्चिमी राष्ट्रहरू समर्थित विद्रोहीहरू सफल भएको देखिए पनि आउँदा दिनहरूमा त्यहाँ शान्ति र लोकतन्त्र स्थापित हुन्छ नै भनेर ढुक्क हुन भने सकिँदैन । मूलतः विभिन्न धार्मिक सम्प्रदाय तथा भौगोलिक क्षेत्रका युद्ध सरदारहरूले सहअस्तित्व स्वीकार्न सकेमात्र सिरियामा शान्ति कायम हुनसक्छ ।
सिरियाको घटनाले आन्तरिक द्वन्द्वमा विदेशी सहयोग कति घातक हुनसक्छ भन्ने उदाहरण देखाएको छ । यसैगरी निरङ्कुश शासकलाई समर्थन गर्ने विदेशी शक्तिले पनि जित्न नसक्ने सत्य पुनः पुष्टि भएको छ ।
सिरियामा जनविद्रोह दबाउन विदेशी शक्तिको साथ लिँदा जनताले अकल्पनीय कष्ट सहनु पर्यो भने शासकले विदेशमा शरण लिनुपर्यो । आशा गरौँ, सिरिया घटनाबाट जनतालाई बल प्रयोग गरेर परास्त गर्ने दुस्साहस गर्न हुँदो रहेनछ भन्ने पाठ संसारभरका शासकहरूले सिक्नेछन् र सबै असन्तुष्टिको शान्तिपूर्ण लोकतान्त्रिक समाधान खोज्न तयार हुनेछन् ।