
काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल यतिखेर भारतको राजधानी दिल्लीमा उपचाररत छन् । दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ ।
२२ मंसिरमा अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनी धनगढीकै माया मेट्रो अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि शनिबार नै भारतको नयाँ दिल्ली लगिएको थियो ।
अस्पतालले दिएको जानकारी बताउँदै हमालको सचिवालयले भन्यो, “उहाँको टाउकोको पछाडिको नसा ब्लक भएको भनेका छन् डाक्टरले ।” अस्पतालले ४८ घण्टा चिकित्सकको निगरानीमा राखेपछि थप उपचारको प्रक्रिया अगाडि बढाउने बताएको हमाल सचिवालयले जानकारी दियो ।
“अहिलेसम्मको अवस्था अनुसार डाक्टरहरुले अप्रेसन गर्नुपर्दैन भन्नु भएको छ,” हमालका सचिवालय सदस्य सुरेन्द्र भट्टले भने, “अवस्था सुधारोन्मुख छ ।” ४८ घण्टाको निगरानीपछि चिकित्सकले थप उपचार प्रक्रिया अगाडि बढाउनेछन् ।
उच्च रक्तचापसँगै हमालको कानमा पनि समस्या छ । चिकित्सकहरुले यही कारणले हमालको मस्तिष्कको नसा ब्लक भएको हुन सक्ने बताएका छन् ।