site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लाइबेरियादेखि सिरियासम्म : यी हुन् देश छाडेर भागेका राष्ट्रप्रमुख
सिरियामा विद्रोही लडाकु । तस्बिर : एएफपी ।

काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) राजधानी दमास्कस छिरेपछि डराएर राष्ट्रपति असद देश छाडेर भागेका हुन् । तर, उनी भागेर कहाँ गए भन्ने तत्काल थाहा भएको छैन ।

राष्ट्रप्रमुखहरू प्रायः राजनीतिक, आर्थिक संकट, सैन्य विद्रोह वा जनआन्दोलनका कारण आफ्नो देश छाड्न बाध्य हुन्छन् । यस्ता घटनाले न केवल उनीहरूको शासनको अन्त्य गर्छ, देशको भविष्य र राजनीतिक स्थायित्वलाई पनि गम्भीर रूपमा प्रभावित गर्छ ।

नागरिक, सैन्य विद्रोह र सुरक्षा कारण देखाउँदै राष्ट्रप्रमुहरू देश छाडेर भाग्ने चलन निकै पुरानो हो । हालसम्म थाह भएअनुसार, ६०९ बीसीमा जुदाह राज्यका राजा भागेर इजिप्ट गएको अवस्थालाई राष्ट्रप्रमुखले देश छाडेको पहिलो घटना मानिन्छ । त्यसयता सयौँ शासकले देश छाड्नुपरेको छ ।

सन् २००० यता देश छाडेर भागेका राष्ट्रप्रमुख यी हुन्–
चार्ल्स टेलर (लाइबेरिया)
लाइबेरियामा गृहयुद्धका कारण चार्ल्स टेलर देश छाडेर भाग्न बाध्य भएका थिए । सन् २००३ को अगस्टमा देश छाडेर भागेका चार्ल्समाथि मानवअधिकार उल्लंघन गरेको आरोप लगाइयो । देश छाडेर भागेका उनी नाइजेरियामा शरण लिन गएका थिए । उनलाई युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतले दोषी ठहर्‍यायो ।

परवेज मुशर्रफ (पाकिस्तान)
पाकिस्तानका चर्चित शासक हुन्, परवेज मुशर्रफ । पाकिस्तानी नागरिकमा मुशर्रफको शासनविरुद्ध असन्तोष बढेको थियो । सन् २००८ को आमनिर्वाचनमा उनको पार्टी हार्‍यो । पार्टीले चुनाव हारेपछि उनले राष्ट्रपति पद छोडे । भ्रष्टाचारमा कानुनी कारबाहीको सामना गर्नुपर्ला भन्ने डरले उनले देश पनि छोडे । सन् २००९ अप्रिलमा देश छाडेर उनी दुबई गए ।

जिन अल अबिदिन बेन अली (ट्युनिसिया)
सन् २०१० को सेरोफेरोमा अबर देशहरूमा ‘अरब स्प्रिङ’ आन्दोलन सुरु भयो । भ्रष्टाचार, तानाशाहीको विरोधमा र स्वतन्त्रताको पक्षमा भएको उक्त आन्दोलनले इतिहास रच्यो ।

अरब स्प्रिङ आन्दोलनको सबैभन्दा ठूलो प्रभाव ट्युनिसियामा पर्‍यो । ट्युनिसियन नागरिकले बेन अलीको भ्रष्टाचार र तानाशाहीविरुद्ध आन्दोलन सुरु गरे । ठूलो विरोध प्रदर्शनपछि उनी सन् २०११ मा देश छोड्न बाध्य भए । देश छाडेर उनी साउदी अरेबिया पुगे । यही आन्दोलनले संसारभर अरब स्प्रिङ आन्दोलनको जग बसाल्यो ।

भ्लादिमिर यानुकोभिच (युक्रेन)
युक्रेनमा भएको ‘युरो मैदान’ प्रदर्शनले राष्ट्रपति भ्लादिमिर यानुकोभिचको शासनविरुद्ध जनआन्दोलनको रूप लियो । भ्रष्टाचार र रुससँगको निकट सम्बन्धको विरोध गर्दै प्रदर्शनकारीले राजधानी कब्जा गरे । सन् २०१४ फेब्रुअरीमा उनी भागेर रुसमा शरण लिन पुगे । त्यसपछि युक्रेनमा नयाँ सरकार गठन भयो । नयाँ सरकार गठनपछि युक्रेन रुससँग युद्धमा फसेको छ ।

एडोर्डो डोस सान्तोस (अंगोला)
लामो समयसम्म अंगोलाको सत्तामा रहेका डोस सान्तोसको शासनसँग असन्तुष्ट नागरिकलो विद्रोह गरे । भ्रष्टाचार गरेको, देशको विकास नगरेको भन्दै नागरिकले विरोध गरेपछि उनी देश छाड्न बाध्य भए । सन् २०१७ मा उनी देश छाडेर स्पेनमा शरण लिन गए ।

मोहम्मद अशरफ घानी (अफगानिस्तान)
तालिबानसँग लडिरहेको अमेरिकी सैनिक फिर्ता भएपछि अफगानी राष्ट्रपति देश छाडेर भागे । तालिबानले अफगानिस्तानको अधिकांश भाग कब्जा गरेर शासन चलाउन थाल्यो ।

तालिबानी समूह अफगास्तिानको राजधानीमै प्रवेश गरेपछि घानीले सन् २०२१ को अगस्टमा देश छाडेका हुन् । तालिबानले काबुल कब्जा गर्नु केही घण्टाअघि घानीले आफ्नो जीवन खतरामा परेको भन्दै देश छाडेका थिए । उनी भागेर संयुक्त अरब इमिरेट्स (यूएई)मा शरण लिन गए । हाल अफगानिस्तानको शासनसत्ता तालिबानले चलाइरहेको छ । घानी संयुक्त यूएईमै छन् ।

गोटाबाया राजापक्षे (श्रीलंका)
श्रीलंका चरम आर्थिक संकटमा परेपछि सन् २०२२ मा नागरिकले विद्रोह गरे । पेट्रोल, खाद्यान्न र अरू अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्य भएपछि नागरिक विद्रोहमा उत्रिएका थिए । विद्रोहमा उत्रिएका जनताले राष्ट्रपति भवन नै कब्जा गरे । उनीहरू भवनमै छिर्ने चाल पाएपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भाग्न बाध्य भए ।

देश छाडेर राजापक्षे थाइल्यान्ड पुगे । थाइल्यान्डबाट उनी सिंगापुर पुगे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, हाल उनी सिंगापुरमै छन् । राजापक्षेको शासन समाप्त भएपछि श्रीलंकामा भर्खरै चुनाव सम्पन्न भएको छ ।

शेख हसिना (बंगलादेश)
१५ वर्षसम्म बंगलादेशको शासन चलाएकी शेख हसिना विद्यार्थी आन्दोलनले चर्को रूप लिएपछि देश छाड्न बाध्य भइन् । बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हसिनाले सन् २०२४ को अगस्टमा बंगलादेश छाडेर भारतमा शरण लिन बाध्य भइन् ।

सरकारी जागिरमा दिइने आरक्षणको विरोधमा सुरु भएको आन्दोलन चर्कियो । आन्दोलनकारी राष्ट्रपति निवासमै छिर्न थालेपछि हसिनाले भारतमा शरण लिएकी हुन् । हसिनाको शासन अन्त्य भएपछि बंगलादेशमा हाल अन्तरिम सरकारको नेतृत्व नोबेल पुरसकार विजेता मुहम्मद युनुसले गरिरहेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro