site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनीसम्बन्ध

काठमाडौं । ललितपुर महानगरपालिका र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । महानगरका प्रतिनिधिसहित मुस्ताङ पुगेका नगरप्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनीसम्बन्ध कायम गर्ने समझदारीपत्रमा शनिबार हस्ताक्षर गरेका हुन् ।

घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनीसम्बन्ध कायम गरिएको ललितपुर महानगरका प्रमुख महर्जनले जानकारी दिए । समझदारीपत्रमा हस्ताक्षरपछि उनले सम्पदा संरक्षण र अरू आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए ।

“प्रकृतिले यस पालिकालाई अमूल्य वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिनेछौँ,” उनले भने ।

उनले विनाटेन्डर महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने बताए ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनले भगिनीसम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए । उनले आफ्नो निमन्त्रणालाई स्वीकार गरेर महानगर प्रमुखसहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनीसम्बन्ध स्थापित गर्न पाएकामा खुसी व्यक्त गरे । हिमालपारिको यो जिल्लामा गर्नुपर्ने काम धेरै भए पनि वार्षिक बजेट न्युन हुँदा असहज भएको उनको भनाइ थियो । 

ललितपुर महानगरका प्रवक्ता एवं वडा नम्बर–९ का वडाध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताए । ललितपुर महानगरले घरपझोङसहित पाँच पालिकासँग भगिनीसम्बन्ध कायम गरेको उनले जानकारी दिए । भगिनीसम्बन्धले पालिकाहरूबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने उनको धारणा छ ।

घरपझोङ गाउँपालिकामा पाँच वडा छन् । यहाँ तीन हजार १८४ जनसंख्या रहेको तथ्यांक छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro