site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिश्नोईको सदस्य भन्दै धम्की दिने फुयाँलसँग देखियो दुर्गा प्रसाईंको निरन्तर फोन सम्पर्क

काठमाडौं । भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको नामबाट नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच ‘कनेक्सन’ देखिएको छ । हाल प्रसाईं पनि प्रहरी थुनामा छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले यही मंसिर ४ गते पक्राउ परेको थियो । प्रहरीको साइबर ब्युरोको टोलीले उनीमाथि अनुसन्धान जारी राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाकोे टेलिकम कम्पनीमा ३२ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको भन्दै विवरण सार्वजनिक गरेपछि प्रसाईंलाई पक्राउ गरिएको हो ।

गएको शुक्रबार पक्राउ परेका झापाको मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय फुयाँलसँग उनको कनेक्सन देखिएको छ । फुयाँलले आफू भारतीय आपराधिक समूह बिश्नोईको सदस्य रहेको भन्दै व्यवसायीलाई फोन र मेसेजमार्फत धम्की दिने गरेका थिए । उनले कतिपय व्यवसायीलाई दुर्गा प्रसाईंसँग माफी माग्न समेत चेतावनी दिँदै आएका थिए ।

व्यवसायीलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको पाइएपछि प्रहरीको विशेष ब्युरोको टोलीले फुयाँललाई भारतबाट पक्राउ गरेको थियो । हाल उनीमाथि सीआईबीले अनुसन्धान जारी राखेको छ । उनीसँग कनेक्सन देखिएपछि प्रसाईंमाथि समेत आपराधिक लाभ लिन खोजेको आरोपमा अनुसन्धान गरिने भएको छ ।

सीआईबीले प्रसाईंले आपराधिक संगठन नै बनाएको आरोपमा संगठित मुद्दामा अनुसन्धान गर्ने तयारी गरेको छ । सीआईबीका एसपी होविन्द्र बोगटीले फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएपछि संगठित अपराधमा अनुसन्धान आकर्षित हुने बताए ।

“प्रसाईंकै निर्देशनबमोजिम फुयाँलले व्यवसायीलाई धम्की दिने गरेको खुलेको छ, हामी थप अनुसन्धान गर्दै छौँ । संगठित मुद्दा आकर्षित हुने देखिन्छ,” एसपी बोगटीले बाह्रखरीसित भने ।

सीआईबीसँग बयानका क्रममा फुयाँलले आफूले प्रसाईंकै निर्देशनानुसार व्यवसायीलाई फोन गर्ने गरेको स्वीकार गरेका छन् ।

प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियाकोे टेलिकम कम्पनीमा लगानी गरेको भन्नेबारे आफूलाई ह्वाट्सएपमार्फत कागजात प्राप्त भएको र त्यसको ‘भेरिफाई’ गर्न आफू चुकेको स्वीकार गरेका छन् ।

उनले प्रहरीसँगको बयानमा भनेका छन्, “प्रधानमन्त्रीविरुद्धको कागजपत्र मैले बनाएको होइन, मलाई ह्वाट्सएपमार्फत डकुमेन्ट आएको हो । त्यही मैले सार्वजनिक गरेको हुँ । मैले खर्च गरेर बनाउन लगाएको होइन ।”

तर, प्रसाईंले प्रधानमन्त्री ओलीविरुद्धको कागजात आफैँले एक करोड ११ लाख रुपैयाँ खर्च गरेर किर्ते बनाएको भन्दै बोलेको भिडियो नै सार्वजनिक भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro