site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमालेले सफा गरेकै थिएन दरबारमार्गको फोहोर ?

काठमाडौं । काठमाडौं वेस्ट मेनेजमेन्टले काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले जागरणसभा गर्दा भएको फोहोर आफूले संकलन गरेको दाबी गरेको छ । 

एमालेले सभा गर्दा दरबारमार्गमा भएको फोहोर आफ्ना स्वयंसेवकले संकलन गरेको दाबी गरिरहेका बेला वेस्ट मेनेजमेन्टले त्यसको खण्डन गर्दै फोहोर व्यवस्थापन आफूले गरेको बताएको हो । 

वेस्ट मेनेजमेन्टले दरबारमार्ग क्षेत्रमा कात्तिक ७ गते सभा गर्दा भएको फोहोर ८ गते बिहान संकलन गरेको दाबी गरेको छ । पानीका बोतल, एमालेका झण्डा, बदामका बोक्रा, चटपटे पोको पार्न प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, पूर्वराजा महेन्द्रको सालिकमा ८८४८ ब्राण्डका रक्सीका बोतल र बियरका क्यान आफूले संकलन गरेको वेस्ट मेनेजमेन्टले बताएको छ । 

दरबारमार्ग क्षेत्रबाट ६.७५ टन क्षमताका दुई ट्रक फोहोर संकलन गरिएको कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक मित्र घिमिरेले बताएका छन् । 

तर, एमालेले भने आफूले फोहोर संकलन गरेको दाबी गर्दै महानगरको जरिबाना पत्र बुझ्न अस्वीकार गरिरहेको छ । महानगरले एमाले केन्द्रीय कार्यालयलमा गएर पत्र बुझाउन खोज्दा केन्द्रीय कार्यालयले आफूहरू कार्याक्रमको आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको छ । 

एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिबाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । तर, एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भिष्म अधिकारीले महानगरले हुलाक र इमेलमार्फत पठाएको पत्र प्राप्त नभएको बताएका छन् ।

1-1732693965.jpg
सरकारका प्रवक्ता तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङ एमालेलाई जरिबाना तिराउने अधिकार नभएको बताउँदै आएका छन् । 

मंसिर ७ गते दरबारमार्गको सभा गर्दा एमालेले फोहोर गरे पनि संकलन नगरेको भन्दै काठमाडौं महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको थियो ।

त्यही दिन राति १० बजेर ५९ मिनेटमा एमाले महासचिव शंकर पोखरेलले एमाले कार्यकर्ताले कार्यक्रमस्थलको फोहोर संकलन गरेको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । 

महानगरले फोहोरमैला व्यवस्थापन ऐन र महानगरको आर्थिक ऐन अनुसार जरिबाना तिराएको हो ।

काठमाडौं महानगरले महानगर क्षेत्रमा सभा गरेर फोहोर गरेको भन्दै जरिबाना तिराएको यो पहिलोपटक होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७ चैतमा गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले ५ हजार २२२ रुपैयाँ जरिबाना तिराएको थियो । 

काठमाडौं महानगरका मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार राप्रपाले जरिबाना तिरिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro