site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुषुप्त महामारी बन्दै एएमआर, सामान्यदेखि जटिल रोगहरूमा निस्प्रभावी बन्दैछन् औषधि 

काठमाडौं । सामान्यदेखि जटिल रोगहरूको उपचारमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिहरू निस्प्रभावी बन्दै गएको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)को पछिल्लो सर्वेक्षणले १९ भन्दा बढी वर्गका एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता घट्दै गएको देखाएको छ । 

यस अर्थमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स् (एएमआर) अर्थात् प्रतिजैविक प्रतिरोध नेपालका निम्ति चुनौती बनिरहेको पुष्टि हुन्छ । 

मानव शरीरमा भाइरस, ब्याक्टेरिया, फंगसजस्ता सुक्ष्मजीवले विभिन्न संक्रमण र रोग निम्त्याइरहेका हुन्छन् । त्यस्ता रोगको उपचारमा प्रयोग हुने औषधि एन्टिमाइक्रोबियल हुन्, जसमा एन्टिबायोटिक, एन्टिभाइरस, एन्टिपारासाइट, एन्टिरोग, एन्टिफंगल पर्छन् । 

रोगविरुद्ध यी वर्गका औषधिको प्रभाव घटेको र सुक्ष्मजीवले औषधिलाई प्रतिरोध गरेको अवस्था एएमआर हो । 

कस्ता रोगको औषधिमा बढ्दैछ एएमआर ?
एनपीएचएलले सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्मकोे एएमआर सर्भिलेन्स रिपोर्टमा १९ भन्दा बढी वर्गका औषधिहरूमा एएमआर पाइएको छ । जसमा पिसाब, रगत, पेटसम्बन्धी, फोक्सोसम्बन्धी संक्रमण तथा  टाइफाइड गराउने ब्याक्टेरियाहरूमा एएमआर बढेको देखिएको छ । 

अस्पतालहरूबाटै हुने संक्रमण (एचएआई) गराउने क्लेब्सिएला जस्ता ब्याक्टेरियाविरुद्ध मल्टी ड्रग सेसिस्टेन्स् अर्थात् दुईभन्दा बढी एन्टिमाइक्रोबियल औषधिले काम नगरेको पनि रिपोर्टले देखाएको छ । 

रिपोर्टअनुसार निमोनियाको उपचारमा प्रयोग हुने पेनिसिलिन, मिथिसिलिन, टाइफाइडको उपचारमा प्रयोग हुने एजिथ्रोमाइसिन, किप्रोफ्लोक्सासिन लगायतका औषधिमा ८३ प्रतिशतसम्म प्रतिरोध पाइएको छ ।

यस्तै, छाला तथा रक्तसञ्चारको गम्भीर संक्रमणमा प्रयोग हुने औषधिहरू ६२ प्रतिशतसम्म निस्प्रभावी बनेको पाइएको छ । पेटसम्बन्धी संक्रमणको उपचारमा प्रयोग हुने १३ भन्दा बढी औषधि, फोक्सोसम्बन्धी संक्रमण निमोनिया ब्रोङकाइटीस जस्ता रोगको उपचारमा प्रयोग हुने औषधिहरू ६२ प्रतिशतसम्म निस्प्रभावी भएको पाइएको छ । 

विश्वव्यापी शीर्ष १० स्वास्थ्य जोखिमभित्र एएमआर 
आजको विश्वमा स्वास्थ्यका १० मध्ये एक प्रमुख चुनौती बनेको छ, एएमआर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वभर प्रतिवर्ष ५० लाख जनसंख्याको मृत्युको कारण एएमआर हो । 

एएमआरका कारण विश्वलाई सन् २०३० सम्ममा ३४ खर्ब अमेरिकी डलर आर्थिक भार पर्ने डब्लूएचओको प्रक्षेपण छ । यही अवस्था रहीरहे सन् २०५० सम्ममा वार्षिक एक करोड जनसंख्याको मृत्यु एएमआरका कारण हुने पनि डब्लूएचओको प्रक्षेपण छ । नेपालमा पनि एएमआर साइलेन्ट प्यान्ड्यामिक बन्दै गएको एनपीएचएलको रिपोर्टमा उल्लेख छ । 

नियन्त्रणका लागि के गर्ने ? 
विश्वभर एन्टिमाइक्रोबियल औषधिहरूको दुरुपयोग नै एएमआरको मुख्य कारण भएको डब्लूएचओकोे ठहर छ । नेपालको हकमा एन्टिमाइक्रोबियल औषधिहरूको मानव स्वयंले गरेको दुरुपयोग, पशुपंक्षीमा  मासुको असुरक्षित प्रयोग र फलफूल तरकारीहरूमा हुने विषादीका कारण एएमआरको असर बढेको विज्ञहरू बताउँछन् । 

एन्टिमाइक्रोबियल औषधिहरू चिकित्सकले सिफारिस गरेको डोजअनुसार पूरा मात्रा प्रयोग नगर्दा पनि एएमआरको समस्या निम्तिने गरेको विज्ञहरूको अनुभव छ । 

चिकित्सकको सिफारिसबिना एन्टिमाइक्रोबियल औषधिको प्रयोग गर्नु र चिकित्सक स्वयम्ले पनि बिरामीलाई यस्ता औषधिहरू बढी सिफारिस गर्नुले एन्टिमाइक्रोबियल औषधिको प्रभाव घट्दै गएको वरिष्ठ औषधि विज्ञ पानबहादुर क्षेत्री बताउँछन् । 

यसबाहेक पशुपंक्षीजन्य मासु र फलफूल तरकारीमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परिरहेको उनको ठहर छ । 

चिकित्सकहरूले पनि ल्याब परीक्षण र त्यसको रिपोर्टलाई नकुर्दै एकैपटकमा दुई, तीनवटासम्म एन्टिमाइक्रोबियल औषधि चलाएको पाइएको क्षेत्री बताउँछन् । 

बिरामी स्वयंले फार्मेसीबाट चिकित्सकको सल्लाहबिना औषधि किनेर प्रयोग गर्ने चलनले पनि एएमआरको समस्या थप बढेको उनी बताउँछन् । डब्लूएचओले एन्टिबायोटिकलाई पहिलो नम्बरमा एक्सेस, दोस्रोमा वाच र तेस्रो रिजर्भ गरी तीनवटा समूहमा वर्गीकरण गरेको छ । 

एक्सेस वर्गमा धेरै उपभोक्ताको पहुँचमा हुनुपर्ने, आम प्रकारको संक्रमणमा प्रयोग हुने र कम साइड इफेक्ट हुने औषधिहरू पर्दछन् । त्यस्तै, वाच वर्गमा चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्नमिल्ने, अस्पताल पुगेका बिरामीमा मात्रै प्रयोग हुने र कडा किसिमका औषधिलाई राखिएको छ । 

रिजर्भ वर्गमा भने यी दुवै औषधिले काम नगरेको अवस्थामा मात्रै प्रयोग गरिने र सिकिस्त रोगविरुद्ध मात्रै प्रयोग हुने भनिएको छ । 

पशुपंक्षीमा प्रयोग हुने ‘कोलिस्टीन’ वर्गका औषधिलाई पनि डब्लूएचओले रिजर्भ वर्गमा राखेको छ । तर, निषेध गरिएका औषधि पशुपंक्षी र तरकारीमा पनि प्रयोग भइरहँदा एएमआरको जोखिम बढेको विज्ञहरू बताउँछन् ।  

विशेषगरी कुखुरा फार्महरूमा कोलिष्टिनको खपत धेरै हुने गरेको छ । कुखुरामा यो औषधि प्रयोग गरेको दोस्रो वा तेस्रो दिनमा नै मासुका लागि बजार पुर्‍याउने गरिएकाले यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परेको क्षेत्री बताउँछन् ।

एन्टिबायोटिक खुवाएको कम्तीमा पाँचदेखि सात दिनपछि मात्रै सो कुखुरा मासु खान योग्य हुने उनी बताउँछन् । कोलिस्टीन मात्रै होइन रिजर्भ वर्गमा रहेका एभिब्याक्टम वर्गका एन्टिबायोटिक पनि नेपालमा बिनासिफारिस प्रयोग भइरहेको औषधि व्यवस्था विभागको तथ्यांक छ ।

व्यावसायिक रूपमा पालिने पशुपंक्षीमा एन्टिबायोटिक औषधिको प्रयोगमा बलियो  नियमन नहुँदा दुरुपयोग भएको विज्ञहरू बताउँछन् । तर, पशु सेवा विभागले भने एन्टिबायोटिकको दुरुपयोगमा शून्य सहनशीलता अपनाएको विभागका महानिर्देशक डा. उमेश दाहालको दाबी छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro