site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पछिल्लोपटक पक्राउ पर्दा नौ दिनमै छुटेका प्रसाईंविरुद्ध यसपटक के होला ?

काठमाडौं । प्रहरीले मंगलबार पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र किर्ते गरी दुई वटा मुद्दा चलाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियाको आजिआटा कम्पनीमा लगानी भन्दै भिडियो हालेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।  

भिडियो सार्वजनिक गरेर भ्रम फैलाएको तथा ओलीकै हस्ताक्षर समेत किर्ते गरेको आरोपमा दुई मुद्दा चलाएको हो । योसँगै प्रसाईंविरुद्धको मुद्दा बलियो बनाउने तयारीमा प्रहरी छ । 

प्रसाईं यसअघि गएको असोज ६ गते पनि पक्राउ गरेका थिए । एक महिलाले आफ्नो चरित्र हत्या हुने गरी आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेका थिए । त्यतिबेला पनि प्रसाईं भक्तपुरस्थित निवासबाट नै पक्राउ परेका थिए ।

९ दिन प्रहरीको हिरासतमा बसेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए । विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा प्रसाईंलाई ५०–५० हजार रुपैयाँ धरौटी लिने गरी अदालतले आदेश दिएको थियो ।

के छ कानुनी व्यवस्था ?
पहिलोपटक पक्राउ पर्दा नौ दिन मात्रै प्रहरीको थुनामा बसेर छुटेका प्रसाईं यसपटक भने त्यति सजिलै छुट्न कानुनी रूपमै कठिन छ ।

उनीमाथि एकैसाथ प्रहरीले दुई वटा मुद्दामा अनुसन्धान गर्ने भएको हो । मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ‘ग’ अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै, हस्ताक्षर कीर्ते कसुरमा छुट्टै पाँच वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । साइबर अपराधमा छुट्टै कानुनी व्यवस्था छ ।

प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान हुनेछ । उक्त कसुरअनुसार ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

उनीविरुद्ध यसअघि समेत यही कसुरमा अनुसन्धान भएको थियो । एक महिनामै पुनः कसुर दोहोरिएकाले अदालतले समेत उनलाई यो पटक धरौटीमा छोड्ने सम्भावना कम देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro