site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल

बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ ।

कोप–२९ सम्मेलनको पाँचौ दिन आज कोपको अध्यक्षमण्डलले आयोजना गरेको कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे ध्यानाकर्षण गराएको थियो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी सहभागी उक्त बैठकमा उनका तर्फबाट वन सचिव डा. दीपकुमार खरालले पर्वतीय क्षेत्रको महत्त्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण गराएका थिए ।

सम्मेलनमा छलफलका लागि एजेण्डा तय गर्ने बारेमा कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दाबारे पहिलोपटक छलफल भएको हो । यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गरेका थिए । सो विषयलाई समेत आज विभिन्न देशहरूले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिए ।

नेपालले यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भुटान, तान्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए ।

कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गरेका थिए । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गगरेको यूएनएफसीसीसीको सचिवालयले जनाएको छ ।  रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro