site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटक र पूर्वाधारको पर्खाइमा चांगा 

म्याग्दी । मंगला गाउँपालिका–५ स्थित चांगाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको र्चागा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो । 

पहाडको शिरमा भिरालो पाखामा रहेको चांगाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । 

दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृष्य एकैठाउँबाट देख्न पाइन्छ ।

चांगाबाट देखिने मनमोहक हिमशृङ्खला, शान्त र एकान्त वातावरणले तन र मन दुवै चांगा हुने त्यहाँ घुम्न गएका बेनीका दिप्सन खड्काले बताए । 

“चिसो हावापानी पृष्ठभूमिमा देखिने हिमालको लामो लर्कनले मोहित बनायो”, उनले भने, “यात्राको थकान मेटियो । दुःख बिर्सायो । समय बितेको पत्तै भएन ।” 

जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु चांगाको थप विशेषता रहेको उनले उल्लेख गरे ।   

चांगाको बराह मन्दिरको धार्मिक महत्व छ । भेडा, बाख्रा र गाईभैँसीका गोठ, स्थानीयवासीको जीवनशैली, संस्कृति र रहनसहन पनि पर्यटक लोभ्याउने माध्यम हुन् । खाजाखाना खाने रेस्टुरेन्ट र बास बस्न लज, सार्वजनिक शौचालय, सूचना बोर्ड, खानेपानी आदिको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई सहज हुने बेनीबाट चांगा  घुम्न गएका किरन कार्कीले बताए ।  

पूर्वाधारको व्यवस्थासँगै प्राकृतिक सौन्दर्यताका विषयमा प्रचारप्रसार आवश्यक रहेको उनले बताए । चांगा घुम्न जाने पर्यटक फेदीमा रहेको सिर्कुममा बास बसेर पैदलयात्रा र सडकमा सवारीसाधनमार्फत चांगामा पुग्ने गर्छन् ।  

पाहुनालाई आलु, मुला, भाँगो, टुसा, च्याउ, सिमीको दाल, ढिँडो, गौरीया र गुडुरा चामलको भात, स्थानीय कुखुराको मासुका परिकार चखाउने गरिएको सिर्कुमका बासिन्दा दीपेन्द्र जिसीले बताए ।  

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चांगा पुग्न सकिन्छ । बाबियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चांगा पुग्ने पदमार्ग पनि छ । 

मंगला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले चांगा जोड्ने सडक स्तरोन्नति र पदमार्गलाई व्यवस्थित गरेर वनभोज, हाइकिङ र क्याम्पिङ गर्ने पर्यटक भित्र्याउन पहल गरिएको बताए ।  

चांगाबाट बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको तिनचुले र मंगलाको वडा नं ४ मा रहेको गम्फाधुरीको एकीकृत पर्यटन विकासको योजनाअनुसार काम भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro