site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमणमा नरिवल पानी कति लाभदायक ? 

काठमाडौं । गएको सेप्टेम्बर र अक्टोबरमा देशभर डेंगी संक्रमण उच्च रह्यो । जनवरीदेखि अक्टोबर २८ सम्म २८ हजार २१२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

उक्त अवधिमा डेंगीबाट १२ जनाको मृत्यु भएको छ । अक्टोबरका २८ दिनमा मात्र नौ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं पनि यो वर्ष डेंगीको ‘हब’ बनेको छ । काठमाडौंमा यो अवधिमा चार हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका बिरामी बढ्दै गर्दा बजारमा नरिवलको माग उच्च थियो । दसैँ र तिहारको बीचमा नरिवलको माग त्यसको पानी पिउनकै निम्ति उच्च भएको व्यापारी बताउँछन् ।

यो अवधिमा काठमाडौंमा नरिवलको खुद्रा मूल्य प्रतिगोटा २४० रुपैयाँसम्म पुगेको उनीहरू बताउँछन् । हाल नरिवलको मूल्य प्रतिगोटा २०० रुपैयाँको हाराहारीमा छ ।

डेंगीका बिरामीलाई नरिवल पानी कति लाभदायक ? 

डेंगी संक्रमणमा जटिल अवस्थामा पुगेर थप उपचार आवश्यक नभएसम्म सिटामोल नै मुख्य औषधि हो । बढीभन्दा बढी झोलिलो पदार्थ र पोषणयुक्त खानेकुराबाट नै बिरामी निको हुनुपर्ने भएकाले चिकित्सकले समेत नरिवल पानी पिउन सुझाव दिएको पाइन्छ ।

“डेंगी संक्रमणको बेला बिरामीलाई बढीभन्दा बढी झोलिलो पदार्थ आवश्यक पर्ने हुँदा हामी नै नरिवल पानी पिउन सुझाव दिन्छौँ,” वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाह्रखरीसित भने ।

उनका अनुसार, नरिवल पानी डेंगी ज्वरोका निम्ति औषधिभन्दा लाभदायक हुन्छ ।

नरिवल पानी नै किन ? 

फलफूलमध्ये सबैभन्दा धेरै पानीको मात्रा भएको फल हो, नरिवल । यसको पानीमा पुनर्जलीय तत्त्व धेरै हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, डेंगी संक्रमणमा बिरामीलाई मुखबाट पुनर्जल गराउनु अति महत्त्वपूर्ण हुन्छ ।

उमालेर चिसो बनाइएको पानी, फलफूलको ‘फ्रेस’ जुस डेंगीका बिरामीलाई लाभदायक हुन्छ । नरिवलमा प्राकृतिक रूपमै पानी पाइने भएकाले थप प्रभावकारी हुन्छ ।

साथै, पर्याप्त मिनरल्स र इलेक्ट्रोलाइट पाइने भएकाले शरीरमा तरल पदार्थ पूरा गर्ने राम्रो माध्यम हो, नरिवल पानी । यसमा ९५.५ प्रतिशत पानी हुन्छ । बाँकी ४.५ प्रतिशतमध्ये पनि कार्बोहाइट्रेड, भिटामिन ‘सी’, आइरन, प्रोटिन, क्याल्सियम, भिटामिन ‘बी’लगायत पोषकतत्त्व पर्याप्त हुने भएकाले स्वास्थ्यवद्र्धक हुन्छ ।

नरिवल पानीमा पाइने एसिडिक तत्त्व र भिटामिन ‘बी’ले शरीरलाई शीतल बनाइराख्न र रगतको मात्रा बढाउन मद्दत गर्छ । साथै, डेंगीका क्रममा हुने झाडाबान्ता रोक्न मद्दत गर्छ ।

नियमित नरिवल पानी पिउनु विभिन्न रोगबाट बच्ने उत्तम उपाय समेत हो । पानी मात्र नभएर नरिवल फल नियमित खानाले रगत सफा गर्ने, ज्वरोको सम्भावना घटाउनेलगायत फाइदा हुन्छ ।

डेंगी संक्रमणका बेला किवी, मेवा, अनार, गाजर, एभोकाडो, पाकेको फर्सी, साग, गाढा हरिया सागसब्जीलगायत खानेकुरा पनि अत्यन्तै फाइदाजनक हुन्छ । हर्ब टी, भेजिटेबल सुप, तोफु, नट्स, उसिनेको अन्डालगायत खानेकुराले पनि बिरामीलाई छिट्टै निको हुन मद्दत गर्ने डब्ल्यूएचओको सुझाव छ ।

डेंगी संक्रमणको अवधिमा धेरै मसालेदार, चिल्लोे, तारेको, तयारी खानालगायत खानेकुरा नखान डब्ल्यूएचओको सुझाव छ । पकाएर खानुपर्ने खानेकुरा काँचै नखान, धेरै गुलियो, ‘डार्क’ चकलेट, कफीजस्ता शरीरमा गर्मी गराउने खानेकुरा पनि नखान सुझाव दिइन्छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro