site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने सहभागितालाई विदेश सयरको अवसरमात्र ठान्ने सरकारी पदाधिकारीको मानसिकताका कारण नेपालको प्रस्तुति प्रायः कमजोर रहने गरेको छ । अजरबैजानको बाकुमा यही कात्तिक २६ देखि मंसिर ७ गतेसम्म  हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा पनि नेपालको सहभागिता प्रभावकारी नहुने सङ्केत देखिइसकेो छ ।

हुनत, नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नै नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रमले नेपालले कोप-२९ लाई महत्त्व दिएको देखाएको छ । विडम्बना, नेपाली प्रतिनिधि मण्डलमा भने विज्ञ, विशेषज्ञलगायत समाजका सबै पक्षलाई समेट्नुको साटो वन तथा वातावरण मन्त्रालयका मन्त्री र सचिवका कृपापात्र कर्मचारी भरिएका छन् ।

कोप-२९ मा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयमा उच्चस्तरीय बैठकसमेत हुने कार्यक्रम निर्धारित गरिएको छ । नेपाल विश्वमै जलवायुको परिवर्तनकोबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्येको मानिन्छ । नेपालले भोग्नुपरेको मौसम परिवर्तनको असामान्य परिस्थिति र त्यसबाट भएको क्षतिका विषय बैठकमा उठाइनेछ । 

राष्ट्रपतिको सम्बोधनलाई सार्थक र प्रभावकारी बनाउनैका लागि पनि नेपालको प्रतिनिधि मण्डलमा विज्ञहरूको सहभागिता आवश्यक हुन्छ । विशेषगरी स्वतन्त्र तथा प्राज्ञिक क्षेत्रका विज्ञहरूको तर्क कर्मचारीको दलिलभन्दा बढी सारपूर्ण हुन्छ भने अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यसलाई महत्त्व पनि दिइन्छ । यसैले नेपालजस्तो मर्कामा परेका मुलुकले यस्तो अवसरको उच्चतम सदुपयोग गर्नसक्नुपर्थ्यो ।

मन्त्रालयका कर्मचारीलाई विदेश सयर गराउने चाहना भए सचिवले त्यस्तै प्रयोजनको अध्ययनरअवलोकन भ्रमणको नाम दिएर प्रायोजन गराए भैगो नि । यस्ता भ्रमणमा मन्त्री र अरूका पनि कृपापात्रलाई समावेश गरेर गुन लगाए पनि धेरैको टाउको दुख्दैन । तर, कोप-२९ जस्तो विश्वसम्मेलनमा देशको प्रतिनिधित्व कमजोर हुनेगरी सहभागी छान्नु भने देशविरुद्ध गरिएको अपराध हो ।

नेपालबाट कोप(२९ मा सरकारी कारिन्दाभन्दा सम्बन्धित विषयका विज्ञहरूको उपस्थिति प्रभावकारी हुनेछ । नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरका सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारीरूपमा तर्क राख्नसक्ने व्यक्तिहरू समावेश भए नभएको हेरी नभएको भए समावेश गराउने प्रयास राष्ट्रपतिको सचिवालयले पनि गर्नुपर्ने देखिन्छ । कम्तीमा राष्ट्रपतिको सहभागिता त सार्थक होस् !
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro