site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँअघि बीपी राजमार्ग खुल्दैन : भौतिक मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा नआउने जानकारी दिएका हुन् । 

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडि बीपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे । यद्यपि, खुलाउने प्रयास भने जारी राखिने उनको भनाइ छ । खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे । 

"बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि खुल्ने सम्भावना छैन । हामी त्यो निष्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू फसेका छन् । स्टाफहरू गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने प्रयास गर्छौँ । त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्नेगरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ । धेरै ठाउँमा बिग्रिएको छ," उनले भने । 

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४  राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए । हाल पाँचवटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए । 

हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब लाग्ने देखिएको उनले जानकारी दिए । त्यस्तै, क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ । 

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड पाँच किमी, बीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्ड १८ किमी, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किमी, कान्ति राजपथ घपेली–बगुवा सडकखण्ड १३ किमी र मेची राजमार्गको रमिते–फिदिम खण्ड आठ किमी हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro