site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काबेली करिडोर प्रसारणलाइनका चार टावरमा क्षति, १८५ मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारणलाइनका चारवटा टावरमा क्षति पुर्‍याएको छ ।बाढीले प्रसारणलाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । उक्त स्थानबाट प्रसारणलाइनलाई माई नदी पार गराइएको थियो । उक्त स्थानमा प्रसारणलाइनको स्पान साढे ७०० मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्णरूपमा क्षति पुर्‍याएको छ । यी दुईवटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रिड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ ।

महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए । प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञसमूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपश्चात् प्रसारणलाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro