site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंसहितका स्थानमा वर्षा कमजोर : राति फेरि सम्भावना, भोलिदेखि सुधार, घाम–बादल हुने

काठमाडौं । काठमाडौंसहितका केही स्थानमा शनिबार अपराह्नपछि पानी पर्न कम भएको छ । राति फेरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति (शनिबार बेलुका ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म) वर्षा भए पनि हिजोआजको जस्तो नहुने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । राति काठमाडौंसहित कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

“मौसममा सुधार हुँदै छ । काठमाडौंलगायत स्थानमा अहिले वर्षा रोकिएको जस्तै छ,” उनले बाह्रखरीसित भने, “राति फेरि वर्षाको सम्भावना छ । तर, हिजोअस्तिको जस्तो नहुन सक्छ ।”

उनका अनुसार, राति पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना कम छ । गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भेगयता भने वर्षाको सम्भावना छ । लुम्बिनीको पूर्वी भेगदेखि कोसी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । शनिबार राति यी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा वर्षाको न्यून सम्भावना छ ।

आइतबार (भोलि) पनि बिहान, दिउँसोसम्म वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । कोसी, मधेस, काठमाडौंसहित वाग्मती, गण्डकी (पूर्वी भेग) र लुम्बिनी प्रदेश (पूर्वी भेग) प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने उनले जानकारी दिए ।

आइतबार देशका केही स्थानमा कुनैकुनै बेला घाम पनि लाग्न सक्ने उनले बताए । “भोलि मौसममा थप सुधार हुने देखिन्छ । घाम पनि लाग्ने सम्भावना छ,” उनले भने ।

काठमाडौंसहितका स्थानमा आइतबार आंशिकदेखि साधारणतया बदली हुनेछ । मौसम पूर्ण रूपमा नखुल्ने उनले बताए । “घाम नै लागिरहन्छ भन्ने होइन, घाम–बादल हुने सम्भावना छ,” उनले भने, “बदली (आकाशमा बादल) नै हुन्छ ।”

सोमबार (पर्सि)देखि भने मौसम सफा हुने उनले बताए । वर्षा गराउने तत्काल अर्को प्रणाली भित्रने सम्भावना नरहेको उनले जानकारी दिए ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । भारतको मध्य प्रदेश र आसपासको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबारको वर्षासँगै बाढीपहिरोले देशभर जनधनको ठूलो क्षति भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro