site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाँके खुकुरी प्रहार प्रकरण : घाइते विष्टविरुद्ध ज्यान मार्ने उद्योगका दर्जन उजुरी
सन्दीप विष्ट । फाइल तस्बिर ।

काठमाडौं । बाँकेमा खुकुरी प्रहार प्रकरणमा प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठाइएको छ । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको दबाबमा प्रहरीले घटनामा संलग्न नभएका व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको आरोप लगाइएको हो ।

यही भदौ १ गते बाँकेको बैजापुरका २८ वर्षीय सुलभ मल्ल र २८ सन्दीप विष्टमाथि खकुरी प्रहार गरिएको थियो । उक्त घटनामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ गरिएकामा बाँकेकै राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका ३४ वर्षीय ज्ञानेन्द्र वली, सोही ठाउँका रत्नबहादुर भण्डारी, वामे भनिने सन्दीप वली र दाङको घोराहीका विशाल बस्नेत छन् । वडाध्यक्ष वली घटनामा संलग्न नभए पनि पक्राउ गरिएको भन्दै प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाइएको हो । पक्राउ गरिएका चारैजना नेकपा (एमाले)निकट युवासंघमा आबद्ध छन् ।

युवासंघमा आबद्ध भएकै कारण वडाध्यक्षलाई पनि प्रहरीले थुनेको आरोप लगाइएको छ । बाँके प्रहरी प्रमुख एवं एसपी तुलबहादुर कार्कीले भने युवासंघको गुनासोबारे आफूसँग जवाफ नभएको बताए ।

एसपी कार्कीले बाह्रखरीसित भने, “गुनासो त होलान्, तर हामी तथ्य र प्रमाणका आधारमा काम गर्ने हो । भोलि अदातल जानुपर्ने हुन्छ, त्यो बेला प्रमाण पनि हेरिन्छ होला । अहिले अनुसन्धानकै क्रममा भएका विषयमा धेरै के बोल्नु !”

खुकुरी प्रहारबाट घाइते मल्ल र विष्टको ‘ट्रयाक रेकर्ड’ समेत आपराधिक भएको प्रहरीले जनाएको छ । हाल घाइते विष्टविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा पटक–पटक ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिएको खुलेको हो ।

विष्टविरुद्ध बाँकेकै विशाल केसी, रतिय कायस्थ, मोहनराम यादवसहितका व्यक्तिले एक दर्जन उजुरी दिएको खुलेको छ । पहिलेको रिसइबीका कारण भदौमा उनीमाथि खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको हो ।

भारतको लखनऊमा मल्ल र विष्टको उपचार भइरहेको छ । घाइते मल्लको बायाँ कोखामा गम्भीर चोट छ । विष्टका दुवै हातका कुमतर्फको भागमाथि खुकुरी प्रहार गरिएको थियो ।

घाइेत दुवैजना तरुण दलमा आबद्ध युवा हुन् । घटनाको विरोधमा तरुण दलले यसअघि नेपालगन्जमा प्रदर्शन समेत गरेको थियो ।

कांग्रेस नेताहरूले प्रहरीको अनुसन्धानमा दबाब दिएको युवासंघको आरोप छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी कुवेर कडायतले भने वडाध्यक्ष वलीविरुद्ध जाहेरी दिइएकाले उनलाई पक्राउ गरिएको बताए ।

“वडाअध्यको भूमिका के हो हामी हेर्दै छौँ । अझै उनको बयान बाँकी छ,” डीआईजी कडायतले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro